
नेपालगन्ज : प्रतिनिधिसभाकी सदस्य एवं प्राकृतिक स्रोत समितिकी सभापति पूर्णाकुमारी सुवेदीले कोहलपुर नगर विकास समितिको करोडौं रुपैयाँ मूल्यको जमिन हडप्न प्रपञ्च गरेको आरोप लागेको छ ।
उनले नगर विकास समितिको १३ कट्ठा जमिन हडप्न प्रपञ्च गरेको समितिको आरोप छ । उक्त जग्गा हडप्न उनले त्यहाँ टहरा निर्माण गरेर बसेका स्थानीयसँग मिलेमतो गरेको समितिका पदाधिकारीले बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री सुवेदी संविधानसभाकी पूर्वउपाध्यक्षसमेत हुन् । एक दशकअघि पनि उनी जग्गा विवादमा मुछिएकी थिइन् ।
नेकपाकै नेतृत्वमा रहेको कोहलपुर नगर विकास समितिले सो जग्गामा भाडामा बसेका व्यवसायीलाई हटाएर आधुनिक बसपार्क तथा व्यापारिक भवन बनाउने योजना अगाडि सारेको छ ।
साढे ४ करोडको बजेटबाट आधुनिक बसपार्क तथा ९ करोड रूपैयाँको लागतमा व्यापारिक भवन बनाउने समितिको योजना छ । बसपार्क निर्माणका लागि ठेक्का सम्झौता भएर काम अगाडि बढे पनि भवन निर्माण अन्योलमा छ । आजको नागरिक दैनिकमा समाचार छ ।