ड्रोग्बाले गरे सन्यासको घोषणा



एजेन्सी : चेल्सीका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बाले सन्यास लिएका छन् । क्लब फुटबल करियरमा सबैभन्दा बढी इंग्लिस क्लब चेल्सीमा बिताएका ड्रोग्बाले २० वर्षे खेलाडी करियर अन्त्य गर्ने घोषणा गरेका हुन् ।

पछिल्लो डेढ वर्ष अमेरिकाको फिनिक्स राइजिङमा बिताएका आइभरी कोस्टका खेलाडी ड्रोग्बाले अब युवा पिढीलाई राम्रो बनाउन योगदान दिने प्रतिक्रिया दिए । ‘२० वर्षपछि खेलाडी करियर अन्त्य गर्ने निर्णय गरेको छु । अब युवा प्रतिभाका विकासमा सहयोग गर्नेछु,’ ड्रोग्बाले भने ।

यो महिनाको सुरुमा ड्रोग्बा पार्टनर समेत रहेका फिनिक्स राइजिङले युनाइटेड सकर लिगको फाइनलपछि सन्यास लिने अपेक्षा गरिएको थियो । जुन खेलमा उनको टिम लसभिलेसँग पराजित भएको थियो । ‘यो खेलबाट मैले सिकेका कुराहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छु,’ ड्रोग्बाले भने ।

२३ वर्षको उमेरसम्म कुनै पनि देशको शीर्ष डिभिजन लिग नखेलेका ड्रोग्बा सन् २००३ मा फ्रेन्च क्लब मार्सेमा आबद्ध भएका थिए । त्यसपछि उनी २४ मिलियन पाउण्डमा चेल्सीमा आबद्ध भएका थिए, जहाँ उनको करियरकै सबैभन्दा सम्झन लायक प्रदर्शन रह्यो । 

चेल्सीमा ड्रोग्बाले आठ वर्ष बिताए । त्यसक्रममा चार वटा प्रिमियर लिग, चार वटा एफए कप, तीन वटा लिग कप र एउटा च्याम्पियन्स लिग समेत जिते ।

चेल्सीलाई इतिहासकै पहिलो च्याम्पियन्स लिग जिताउनका लागि ड्रोग्बाको भुमिका महत्वपूर्ण थियो । सन् २०११–१२ को फाइनलमा ड्राग्बाले बायर्न म्युनिकविरुद्ध हानेको पेनाल्टीका कारण चेल्सी विजयी भएको थियो ।

आइभरी कोस्टका महान खेलाडीसमेत रहेका ड्रोग्बाले देशका लागि १०५ खेलमा ६५ गोल गरेका छन् । उनले आफ्नो देशलाई तीन पटक विश्वकपमा पुर्‍याउन सफल भए । उनी दुई पटक अफ्रिकन फुटबलर अफ द एयरको उपाधिबाट समेत सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्