‘ए’ डिभिजन लिगमा प्रतिष्ठाको लडाइँः मनाङ र थ्रीस्टार भिड्दै



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेकसको मैदानमा दिउँसो दुई बजेर ३० मिनेटमा सुरु हुनेछ । घरेलु मैदानमा सधैं कट्टर प्रतिद्वन्द्वीको रुपमा रहेको मनाङ र थ्रीस्टार लिगको तेस्रो चरणमा आमनेसामने हुन लागेका हुन् ।

थ्रीस्टार लिगको शीर्ष स्थानमा र मनाङ दोस्रो स्थानमा छ । थ्रीस्टारले यसअघिका दुवै खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक बनाएर शीर्ष स्थानमा रहेको हो । यता, मनाङले पनि दुवै खेलमा जित हात पार्दै ६ अंक बनाएपनि थ्रीस्टारसँग गोलअन्तरले पछि पर्दै दोस्रो स्थानमा रहेको हो ।

लिगकै चर्चित खेल र आफ्नो प्रतिष्ठाको लडाइँ अघि मनाङलाई भने केही धक्का लागेको छ । मनाङका तीन जना महत्वपूर्ण खेलाडी थ्रीस्टारविरुद्धको खेलमा मैदान बाहिर हुनेछन् । मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी घाइते छन् भने अफिज ओलावाले पनि दोहोरो पहेँलो कार्डको कारण थ्रीस्टारविरुद्धको खेलमा हुने छैनन् ।

यसकारण पनि थ्रीस्टारलाई केही फाइदा पुग्ने अनुमान गरिएको छ । तर, मनाङमा बेन्च खेलाडी पनि राम्रो भएको कारण थ्रीस्टारलाई जितको लागि सहज भने हुने छैन । 

यता, थ्रीस्टार भने झनै लयमा देखिएको छ । थ्रीस्टारका कप्तान विक्रम लामाको पुनरागमनसँगै टिमको थप आत्मविश्वास पनि बढेको देखिन्छ ।

त्यस्तै, आजै नै पहिलो खेलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेल ११ बजे सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्