झण्डै एक महिनापछि नेकपा सचिवालय बैठक आज



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।  पछिल्लो सचिवालय बैठक गत कात्तिक ८ गते बसेको थियो । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएको, शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको तथा तिहार र छठ पर्व परेकाले नेकपाको बैठक पर धकेलिएको हो ।

प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । 

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको जस्ता विषयमा नेकपा भित्रबाटै असन्तुष्टि जनाइएको छ । नेताहरुले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आएका छन् ।

यसैक्रममा बुधबार नेकपाका युवा नेताहरुले महासचिव विष्णु पौडेललाई एक ज्ञापनपत्रसमेत बुझाएका छन् । पार्टी र सरकार सञ्चालनको विधि र प्रक्रियाबारे स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउनु्पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । 

लामो समययता केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा र जिम्मेबारी बाँडफाँड नहुँदा नेताहरु बेरोजगार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्