मलेसियामा सरकारले नै कामदार पठाउने गृहकार्य, नेपाली टोली बुधवार मलेसिया जाने



काठमाडौं: नेपाल र मलेसियाबीच ‘जीटुजी’ सरकार/सरकारबीच सम्झौता गरी कामदार पठाउने सम्बन्धमा निर्णायक छलफल गर्न नेपाली टोली बुधवार मलेसिया जाने भएको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा पराराष्ट्र र कानून मन्त्रालयका सहसचिव स्तरका दुईसहित तीन जनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको हो ।

 

नेपाली टोलीले असोज १२ गते मलेसियाको टोलीसँग नेपाल र मलेसियाबीच जीटुजी सम्झौताका विषयमा निर्णायक छलफल गर्नेछ । यसअघि नेपाल र मलेसियाबीच पटक–पटक छलफल भएपनि हालसम्म सम्झौता हुन सकेको छैन ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जीटुजी सम्झौतापछि मात्रै कामदार पठाउने भन्दै मलेसियाका लागि श्रम स्वीकृति रोकेका छन् । यस सम्बन्धमा दुई देशबीच ४ महिनादेखि छलफल भइरहेको छ ।

 

पछिल्लो समय मलेसिया नेपालबाट जीटुजी प्रक्रियामार्फत् नै कामदार लिन सकारात्म देखिएको छ । यसरी कामदार पठाउँदा ठगिने सम्भावना हुँदैन भने कामदारहरूले भनेअनुसारको काम पाउने सम्भावना प्रबल हुन्छ ।

 

दक्षिण कोरिया र इजरायलमा यसै प्रक्रियामार्फत् कामदार पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्