मनाङ–मर्स्याङ्दीले थ्रीस्टारलाई हरायो



काठमाडौं:  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दावेदार मानिएको थ्रीस्टारमाथि अर्को दावेदार मनाङ–मर्स्याङ्दी हावी भएको छ । आज तेस्रो चरणको खेलमा मनाङले थ्रीस्टारलाई २–१ ले पराजित गरेको हो । सुरुवातमै अग्रता लिएको मनाङले अन्त्यतिर पुन: एक गोल खाएको थियो ।

 

खेलको ११औं मिनेटमा अन्जन विष्ट र १८औं मिनेटमा विदेशी खेलाडी एड्लाजाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् । थ्रीस्टारका रन्जित धिमालले ८४ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । जितसँगै मनाङ थ्रीस्टारमाथि ३ अंकको अग्रता बनाउँदै लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

 

 मनाङको ३ खेलबाट ९ अंक भएको छ भने थ्रीस्टार र एक खेल कम खेलेको संकटा क्लबको समान ६/६ अंक छ । यसअघि, न्यूरोड टिम (एनआरटी)माथि ५–१ को फराकिलो जितसहित च्यासलले महत्वपूर्ण ३ अंक बटुलेको छ  ।

 

च्यासलका लागि बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २/२ गोल गरेका थिए भने  सन्तोष साहुखलले १ गोल थपेका थिए । जितसँगै च्यासलको ३ खेलबाट ४ अंक भएको छ । हिमालयन शेर्पा, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबको पनि समान ४/४ अंक छ । लिगअन्तर्गत् शुक्रबार तीन खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्