६० हजार शिक्षक दरबन्दी थप्न सुझाव



देशका ७५३ स्थानीय तह मातहत रहेका सरकारी विद्यालयमा ६० हजार हाराहारीमा शिक्षक दरबन्दी थप गर्नुपर्ने देखिएको छ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलले दिएको सुझाव अनुसार दीर्घकालीन रूपमा शिक्षक अभाव हल गर्न ६० हजार हाराहारीमा दरबन्दी थप गर्नुपर्छ।

 

कार्यदलले केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा विद्यार्थीको संख्या हेरी शिक्षक दरबन्दी पुनर्वितरण गर्न सरकारलाई सुझाव दिएको थियो। पूर्वसचिव महाश्रम शर्मा संयोजक रहेको सुझाव समितिले सबै विद्यालयमा अहिले भएका स्थायी शिक्षक दरबन्दी संख्या, विद्यार्थी संख्या, कर्मचारीलगायत अध्ययन गरेको थियो।

 

‘तत्कालका लागि समानुपातिक ढंगले दरबन्दी वितरण गर्ने र दीर्घकालीन व्यवस्थापनका लागि सरकारले शिक्षक दरबन्दी नै थप गर्नुपर्छ भन्ने कार्यदलले सुझाव दिएको छ’, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सेतोपाटीसँग भने, ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुनुपर्छ। विद्यार्थी कम भएका विद्यालयमा धेरै शिक्षक छन् भने विद्यार्थी भएका ठाउँमा समायोजन गर्ने हो।’

 

शिक्षक दरबन्दी वितरणमा समानता नहुँदा र उचित व्यवस्थापन गर्न नसक्दा स्थायी शिक्षक दरबन्दी शून्य भएका विद्यालय पनि रहेको पाइएको छ। १ देखि ८ कक्षासम्म पढाइ हुने देशका दुई हजार बढी विद्यालयमा एक जना पनि स्थायी शिक्षक दरबन्दी नभएको पनि कार्यदलले अध्ययनका क्रममा फेला पारेको छ।

 

कक्षा ९ र १० पढाइ हुँदै आएका पाँच सय बढी विद्यालयमा पनि स्थायी शिक्षक दरबन्दी छैन। तीन हजार हाराहारी सरकारी विद्यालयमा स्थायी शिक्षक दरबन्दी नै नभएको पाइएको हो।

 

‘बाल शिक्षा (ईसिडि) लाई पनि शिक्षा ऐनअनुसार दरबन्दी कायम गर्नुपर्ने छ’, उनले भने, ‘राहत शिक्षक पनि छन्। उनीहरूको ठाउँमा पनि स्थायी शिक्षक दरबन्दी चाहिन्छ।’

 

स्थायी शिक्षक दरबन्दीविना नै राहत, अस्थायी र निजी स्रोतमा रही शिक्षकले पठनपाठन गर्दै आएका छन्।

 

शिक्षक अपुग हुने समस्यालाई दीर्घकालीन रूपमा हल गर्न मन्त्रालयले कार्यदल गठन गरी सुझाव मागेको थियो। कार्यदलले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले असोज १२ गते सार्वजानिक गर्ने तयारी गरेको छ। राहतलाई स्थायी दरबन्दीमा लैजान, विद्यालयमा कर्मचारी दरबन्दी पनि थप गर्न कार्यदलले सुझाव दिएको महानिर्देशक पौडेलले बताए।

सरकारी विद्यालयमा आधारभूत तहमा शिक्षक अभाव छ। कक्षा १ देखि ८ सम्म २७ हजार हाराहारीमा शिक्षक दरबन्दी अपुग छ भने कक्षा ९ र १० पढाउन २१ हजार हाराहारी दरबन्दी थप गर्नुपर्ने देखिएको हो। कक्षा ११ र १२ लाई पनि माध्यमिक तहमा राखिएकोले चार हजार हाराहारी शिक्षक अपुग छ। देशभर १ लाख ५० हजार स्थायी दरबन्दीमा शिक्षक छन्।

 

भूगोल र विद्यार्थी संख्या हेरेर शिक्षा विभागले यसअघि शिक्षक दरबन्दी निर्धारण गरेको थियो। हिमालमा ४०, पहाडमा ४५ र उपत्यकासहित तराईमा ५० विद्यार्थी बराबर एक स्थायी शिक्षक दरबन्दी राखिएकोमा अब कार्यदलको सुझावअनुसार हिमालमा ३०, पहाडमा ३५ र तराईमा ४० जना विद्यार्थी बराबर एक जना स्थायी शिक्षक दरबन्दी राख्ने तयारी रहेको महानिर्देशक पौडेलले बताए।

 

‘अरु मुलुकजस्तो शिक्षकको दरबन्दी नै कम भएको होइन, भएका दरबन्दीको व्यवस्थापन नहुँदा समस्या देखिएका हुन्’, उनले भने। विद्यालय शिक्षा स्थानीय तह मातहत गए पनि शिक्षक दरबन्दी समायोजन तथा पुनर्वितरणको काम मन्त्रालयले नै गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्