शृङ्खला खतिवडा मिस वर्ल्ड उपाधिको कति नजिक?



काठमाडौँ: मिस वर्ल्ड २०१८ को अन्लाइन भोटिङमा ३० प्रतिशतभन्दा बढी मत पाएकी नेपालकी शृङ्खला खतिवडा सो अन्तर्राष्ट्रिय सौन्दर्य उपाधिको एक खुड्किलो नजिक पुगेकी हुन् कि भनेर नेपालीहरूमाझ उत्साह देखिएको छ । नेपालको प्रतिनिधित्व गर्दै चीनमा जारी प्रतियोगीमा सहभागी भएकी मिस नेपाल २०१८ खतिवडाबारे धेरैले सामाजिक सञ्जालमा चासो व्यक्त गरेका छन् । नेपाली प्रतियोगीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी भन्दै उनको प्रशंसा पनि भएको छ । प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने डिसेम्बर ८ मा हुनेछ ।

 

के भन्छन् नेपालीहरू?

सामाजिक सञ्जालमा शृङ्खला सबैभन्दा क्षमतावान् प्रतियोगी भएकी र उनले उपाधि जित्ने दाबी गर्नेहरू पनि छन् । उनी नेपालकै गौरव भएकाले उनलाई अन्लाइन भोटिङमार्फत् जिताउन अभियान गर्नेहरू पनि छन् ।  उनी नेपालको पर्यटन प्रवर्धनका लागि उपयोगी हुन सक्ने टिप्पणी पनि गरिएको छ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले पनि शृङ्खलाको परिचयात्मक भिडिओ ट्विट गरेका छन् ।  मिस वर्ल्ड २०१८ प्रतियोगिताका लागि बनाइएको सो भिडिओ युट्युबमा १३ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

 

जारी प्रतियोगिताअन्तर्गत भर्खरै सम्पन्न उत्कृष्ट मोडलको प्रतिस्पर्धामा शृङ्खला शीर्ष ३० मा परेकी थिइन् । अब हुन बाँकी मल्टिमिडिया, ब्युटी विथ पर्पोज र अन्य उपाधिका लागि आफूले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको उनले लेखेकी छन् । बिहीवारसम्म प्राप्त मतका आधारमा शृङ्खला अरू प्रतियोगीभन्दा माथि देखिएकी छन् । मिसवर्ल्डभोट डट कम नामक वेब्साइटका अनुसार शृङ्खलाले ३२ प्रतिशत मत पाउँदा युगान्डाकी प्रतियोगीले १० प्रतिशत, फ्रान्सकी प्रतियोगीले ८ प्रतिशत र रुस एवम् तान्जानियाका प्रतियोगीले चार-चार प्रतिशत मत पाएका छन् । स्रोत बिबिसी नेपाली

प्रतिक्रिया दिनुहोस्