फिल्म ‘२.०’ रिलिज अगावै सय करोड क्लबमा



एजेन्सी : दक्षिण भारतीय सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता अक्षय कुमारले अभिनय गरेको २.० पछिल्लो समयको बहुप्रतीक्षित फिल्म बनेको छ ।

भारतीय फिल्मको इतिहासमै सर्वाधिक बजेट (भारु ५ सय ५० करोड हाराहारी) मा निर्माण भएको उक्त फिल्मले रिलिज अगाडि नै आम्दानी गर्न थालेको छ । प्रदर्शनमा आउनु अगाडि नै फिल्म एक सय करोड क्लबमा प्रवेश गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार, यो फिल्मको स्याटेलाइट अधिकार भारु १ सय २० करोडमा बिक्री भएको हो । यससँगै फिल्मले रिलिज अगावै एक सय करोडभन्दा बढी कमाउने पहिलो तमिल फिल्मको कीर्तिमान बनाएको छ । 

यस्तै, फिल्मले डिजिटल अधिकार बिक्रीबापत रु ६० करोड समेत हात पारेको छ ।

शंकरले निर्देशन गरेको यो फिल्म सन् २०१० मा अत्यधिक रुचाइएको विज्ञान कथामा आधारित तमिल भाषाको फिल्म रोबोटको सिक्वेल हो । रोबोटमा रजनीकान्त र ऐश्वर्य राय बच्चनको अभिनय थियो भने सिक्वेलमा रजनीसँगै अक्षय कुमार र एमी ज्याक्सनले अभिनय गरेका छन् ।

लगानी ऐतिहासिक भएजस्तै फिल्म २.० ले अहिलेसम्मका भारतीय फिल्महरूको कमाइको रेकर्ड तोड्ने अनुमान विश्लेषकहरूले गरेका छन् । आकलन अनुसार बक्स–अफिसमा रिलिज भएको करिब एक सातामै फिल्मले आफ्नो बजेट उठाउनेछ । फिल्म यही २९ नोभेम्बरमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्