बदनाम पप्पु कन्ट्रक्सनलार्इ सरकारले दियाे अर्बाैंकाे ठेक्का



काठमाडौं : पप्पु कन्स्ट्रक्सन बदनाम छ। देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ।

 

सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ।

 

हात परेका अधिकांश आयोजना वर्षाैदेखि अलपत्र छन्। एउटै आयोजना सम्पन्न नभएको सडक विभागले जनाएको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पनि उसैले पाउने भएको छ। पहिलो पटक पप्पुले भवन निर्माणमा हात हालेको हो।

 

खरिद ऐनअनुसार कम अंक कबोल गरी पाँच सडक खण्ड र एक भवनबाहेक पप्पुले अत्याधिक संख्यामा पुलकै आयोजना ठेक्का लिएको छ।

 

यो कम्पनीले जेभीमा गरेको निर्माण कम्पनी ४० पुगेका छन्। पप्पुले मात्रै काम गरेका कम्पनी डेढ दर्जन छन्। पुलको निर्माणको बढी ठेक्का पाएको पप्पुले राष्ट्रिय राजमार्गमा सात पुलको काम लिएको छ। यसमध्ये पाँचको निर्माण अवधि सकिए पनि कार्य सम्पन्न भएको छैन। अन्य दुईको पनि निर्माणकै चरणमा छ।

 

स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा पप्पुले लिएको छ। यसमध्ये १८ वटाको निर्माण अवधि सकिएको छ। तर निर्माण कार्य सम्पन्न भएको छैन। अन्य आठको निर्माण कार्य समेत सुरु भएको छैन।

 

विभागका अनुसार पप्पुले हात हालेका अधिकांश पुल अलपत्र छन्। उसले राजधानीको टेकु, डल्लु र तीनकुनेको पुल निर्माणको जिम्मा पाएको छ। टेकुमा निर्माण सम्पन्न भए पनि पुल स्वीकृत भएको छैन। यो पुल सञ्चालनमा सडक विभागले रोक लगाएको छ।

 

२०७१ पुसमा ठेक्का पाएको वाग्मती पुलको निर्माण अवधि सकेर पनि हालसम्म निर्माण सम्पन्न भएको छैन। गत असार मसान्तमा निर्माण अवधि सकिए पनि हालसम्म यो पुलको निर्माण २० प्रतिशत मात्रै सकिएको छ।

 

‘पप्पुले हात ठेक्का हात पार्ने तर वर्षौसम्म आयोजना अलपत्र पार्ने समस्या भेटिएको छ,’ पुल विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले भने, ‘निर्माण भएका पुलहरू पनि गुणस्तरमा कमजोर अवस्थाका छन्।’

 

संघीय समाजवादी फोरमका सांसदसमेत रहेका हरिनारायण रौनियारको नाममा पप्पु कन्स्ट्रक्सन छ। जटही जनकपुर सडक खण्डको कमला नदीमाथि निर्माण गर्नुपर्ने पुलको पनि म्याद सकिएको छ। कमला नदीमाथि पुल बनाउन उसले ३४ करोडको ठेक्का पाएको थियो। २०६८ सालमा सुरु गरी २०७३ साउन मसान्तमा निर्माण सक्नुपर्ने थियो। उक्त अवधिमा निर्माण सम्पन्न नहुँदा सरकारले एक वर्ष पुनः समय थप गरेको छ।

 

गुणस्तरहीन निर्माणका कारण कतिपय पुलले बाढीको स-साना भेललाई पनि थेग्न सकेका छैनन्। रौतहटको लालवकैया पुल गत वर्ष असारमा आएको बाढीबाट क्षतिग्रस्त बन्यो। यो पुल हस्तान्तरण नहुँदै क्षतिग्रस्त बनेको थियो। कमसल बनाएका कारण उक्त पुलमा क्षति पुगेको भन्दै पुल विभागले प्रतिवेदन बनायो। उक्त पुलमा पप्पुको कमजोरी देखिएकाले विभागले पुनर्निर्माण गर्न लगाएको थियो।

 

उपमहानिर्देशक थापाकाअनुसार अघिल्लो आर्थिक वर्षको साउनको अन्तिम सातामा आएको बाढीले बर्दियाको बबई नदीको पुलसमेत भाँचिएको थियो। यो पुल पनि हस्तान्तरण नहुँदै भाँचिएको थियो। उसैको खर्चमा उक्त पुल पुनर्निर्माण गर्न लगाइएको थियो। तर, हालसम्म निर्माण कार्य सुरु भएको छैन।

 

ठेक्का कबोल गरी निर्धारित समयमा गुणस्तरयुक्त निर्माण गर्न नसक्ने पप्पुको लापरवाहीअनुसार कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अग्रसर भएको छ। पप्पुसँग जरिवाना, हर्जाना तिराउनेदेखि बैंक धरौटीसम्म जफत गर्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउन लागेको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए।

 

‘निर्माण क्षेत्रमा उसले गरेका त्रुटिको प्रकृतिअनुसार आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित विभागलाई निर्देशन दिएको छु,’ सचिव अधिकारीले भने, ‘उसका त्रुटि प्रमाणित भए कालोसूचीमा पनि राख्न सक्छौं।’ यसका लागि पप्पुले पाएका सम्पूर्ण ठेक्का र निर्माण कार्यमाथि निगरानी बढाउन मन्त्रालयले निर्देशन दिइसकेको छ। खबर अाजकाे अन्नपूर्ण पाेस्ट्बाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्