काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर-फोरको खेलमा क्रिकेटको पावरहाउस मानिएको भारतलाई अफगानिस्तानले बराबरीमा रोकेको छ ।
मंगलबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतसँग बराबरी खेल्दै अफगानिस्तानले अंक बाँडेको हो । यद्यपी अफगानिस्तान सुपर चारबाटै बाहिरिएको छ ।
अफगानिस्तानले दिएको २५३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको भारतले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा २५२ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । भारतका लागि लोकेस राहुलले ६०, अम्बाती रायडुले ५७ र दिनेश कार्तिकले ४४ रन बनाएपनि जित दिलाउन भने सकेनन् ।
त्यस्तै, भारतका लागि एक दिवसीय क्रिकेटमा २००औं कप्तानी गरेका महेन्द्रसिंह धोनीले ८ रन बनाए । बलिङतर्फ अफगानिस्तानका अफ्ताब आलम, मोहमद नाबी र राशिद खानले समान २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको थियो । अफगानिस्तानका मोहमद शाहजादले १२४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै अफगानिस्तानका मोहमद नाबीले ६० रन बनाए ।
भारतका रविन्ऽ जडेजाले ३ र कुलदीप यादवले २ विकेट लिए । अफगानिस्तानसंग बराबरी खेलेपनि भारत सुपर चारको विजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । भारतले सुपर चार ३ खेलमा ५ अंक बनाएको हो ।
पाकिस्तान र बंगलादेशले सुपर चारको अन्तिम खेलमा आज प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमबीचको विजेता फाइनलमा प्रवेश गर्नेछ ।