नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजन आज



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यको कार्यविभाजन सोमबार हुने भएको छ । पूर्वनिर्धारित् कार्यसूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्यविभाजनको टुंगो लगाउने निर्णय गरेको हो ।

 

केन्द्रीय सदस्यको कार्यविभाजनपछिमात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए ।

 

बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल र नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्