हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर



सोलुखुम्बु । सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो । 

 

असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि फाप्लु विमानस्थलमा नियमित उडान गर्न सकेका छैनन् । 

 

काठमाडाैंदेखि सल्लेरी सीधा सडक यातायात सञ्चालन भएसँगै हवाई यात्रुको सङ्ख्यामा कमी आएको बताइन्छ । विगत ५ महिनादेखि उडान नगरेको समिट एयरलाइन्सले काठमाडौँबाट आउने यात्रु नभएकाले नै उडान तालिका नराखेको जानकारी दिएको छ । 

 

फाप्लुबाट यात्रु पाए पनि काठमाडौंबाट सोलुखुम्बु आउने यात्रु नहुँदा उडान हुन नसकेको समिट एयरलाइन्स फाप्लुका इन्चार्ज मिङमार शेर्पाले जानकारी दिए । काठमाडौँबाट यात्रु पाएको खण्डमा नियमित उडान तालिका राख्ने उनको भनाइ छ । 

 

मौसम प्रतिकूलताका कारण हवाई उडान प्रभावित हुने भएपछि काठमाडाैंबाट सोलखुम्बु आउने यात्रुको सङ्ख्यामा कमी आएको विमान कम्पनीका कर्मचारीको भनाइ छ । यता तारा एयरलाइन्सले भने मौसम प्रतिकूलता भएको समय बाहेक अरु समयमा नियमित उडान गरिरहेको दाबी गरेको छ । तारा एयरलाइन्सले हप्तामा दुई दिन नियमित उडान गरिरहेको तारा एयरलाइन्स फाप्लुका इन्चार्ज शैलेश श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्