महाधिवेशनको माग गर्दै पार्टी कार्यालय अगाडि नेविसंघको धर्ना



काठमाडौं : कांग्रेस भ्रातृ संगठन नेविसंघको वर्तमान कार्यसमितिभन्दा बाहिर रहेका संस्थापनइतरका विद्यार्थी नेताहरु १२ औं महाधिवेशन सुनिश्चितताको माग राख्दै धर्नामा बसेका छन् । उनीहरू थपिएको २ महिनाले १२ औं महाधिवेशनको सुनिश्चतता नभएको भन्दै आइतबार बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । पार्टीले बिहान साढे ८ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकलाई लक्ष्य गरी विद्यार्थी नेताहरु धर्नामा बसेका हुन् ।

 

नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमिति भंग गरेर महाधिवेशनका लागि नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग उनीहरुको रहेको छ । धर्नामा बसेका विधार्थी नेता हिमालदत्त श्रेष्ठले आफूहरुको माग महाधिवेशनको सुनिश्चितता भएको बताएका छन् । 

‘कि त पार्टीले विधानलाई पूर्ण रुपमा लागू गर्नुपर्याे, कि त विद्यार्थीको भावनाअनुसार चल्नुपर्यो ।’ उनले विधान लत्याएर २ महिना थप्नाले महाधिवेशनको सुनिश्चतता नहुने बताए । एक साताअघिको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघको विधानमा भएको व्यवस्था संशोधन गरेर वर्तमान कार्यसमितिको म्याद २ महिना थपेको थियो ।  

 

उनले सबै नेता बैठकस्थलमा प्रवेश नगरेसम्म आफूहरुको धर्ना जारी रहने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवालगायत अधिकांश नेता बैठकका लागि पार्टी कार्यालय पुगे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्