राष्ट्रसंघमा ट्रम्पकाे सम्बाेधनः इरानमाथिको प्रतिबन्ध सही कदम – राष्ट्रपति ट्रम्प



न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको बताएका छन् ।

 

संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न आग्रह गरे । 

 

राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउनेगरी लगाइएको आर्थिक प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन मद्दत गर्नुपर्ने खाँचो औंल्याए । उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाब सिर्जना गर्नुको विकल्प नरहेको बताए । 

 

उत्तर कोरियासँग आणविक निःशस्त्रीकरणका बारेमा वार्ताहरु अघि बढेको र चाँडै अर्को शिखर बैठकको आयोजना हुने जानकारी दिँदै राष्ट्रपति ट्रम्पले निःशस्त्रीकरणका कार्यहरु पूरा भएपछि आर्थिक प्रतिबन्धहरु फुकुवा हुने स्पष्ट गरे । 

 

उहाँले उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्न दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र जापानका प्रधानमन्त्री सिन्जो आबेले गर्नुभएको मध्यस्थताका लागि धन्यवाद पनि दिए । 

 

राष्ट्रपति ट्रम्पले कुनै समय दक्षिण अमेरिकाकै धनी राष्ट्र भेनेजुएलाको अव्यवस्था र गलत राजनीतिक प्रणालीका कारण मुलुक लगभग टाट पल्टिएको चर्चा गर्दै अहिले त्यहाँबाट २० लाखभन्दा बढी मानिस अन्य देशमा पलायन हुन बाध्य भएको बताए । उनले भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको सरकारमाथि थप प्रतिबन्ध लगाउने जानकारी दिए । 

 

संयुक्तराज्य अमेरिकाले प्रत्येक वर्ष विभिन्न मुलुकका लागि उपलब्ध गराइआएको आर्थिक सहायताको समीक्षा गर्नुपर्ने समय आएको चर्चा गर्दै अमेरिकी सहयोग अमेरिकाकै हितमा समेत नभएकामा दुःख व्यक्त गरे । 

 

पछिल्लो व्यापारिक तनावका बारेमा समेत चर्चा गर्नुभएका राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा पछिल्लो वर्षसम्म करिब आठसय अर्ब डलर पुगेको बताए । यो परिस्थिति उत्पन्न हुनुमा विगतका अमेरिकी नीति मुख्य रुपमा जिम्मेवार रहेको बताउँदै उनले यही खुकुला नीतिका कारण चीनले फाइदा लिएको दाबी गरे । 

 

राष्ट्रपति ट्रम्पले भने– विगतका असमान व्यापार सम्झौताहरु हामीलाई स्वीकार्य छैन । अमेरिकामा सामान थुपार्ने, आफ्ना सामानमा अनुदान दिने, अमेरिकी उद्योगमाथि लक्षित गर्ने तथा आफ्नो देशको मुद्रालाई तोडमोड गर्ने कार्य अब सह्य हुँदैन । 

 

उनले राष्ट्रसंघको कार्यशैलीमाथि समेत प्रश्न गर्दै अमेरिकी हित विपरीत रहेका कारण राष्ट्रसंघीय मानवअधिकार आयोगबाट अमेरिका बाहिरिएको बताए । 

 

राष्ट्रपति ट्रम्पले भने– अमेरिकाका सन्दर्भमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) को कुनैपनि क्षेत्राधिकार, वैधानिकता र अख्तियारी छैन । राष्ट्रसंघीय मानवअधिकार आयोग र आइसीसीले अमेरिका र इजरायलका विरुद्ध काम गर्न थालेको छ । 

 

राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा अमेरिकाले अभूतपूर्व प्रगति गरेको, रोजगारी बढेको, व्यापार घाटामा कमी आएको, विदेसिएका कलकारखाना स्वदेश फर्किन थालेको भनाइ राखेर सम्बोधन शुरु गरेका थिए । 

 

अमेरिका र अमेरिकी सामथ्र्यलाई केन्द्रमा राखेर गरिएको ट्रम्पको सम्बोधनप्रति पक्ष र विपक्षमा बहस शुरु भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्