ओली र दाहालको अडानले नेकपा पोलिटब्युरो गठनमा ढिलाइ



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको अडानका कारण पोलिटब्युरो गठनमा ढिलाइ हुने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पोलिटब्युरो गठन गर्नुअघि केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने अडान लिएपछि नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको प्रस्ताव निरर्थक भएको हो । नेपाल र खनालले तत्काल पोलिटब्युरो गठनको प्रस्ताव राखेका थिए । 

केन्द्रीय सदस्यको एकतिहाइ संख्याको पोलिटब्युरो रहने नेकपाको विधानमा उल्लेख छ । यसअनुसार पोलिटब्युरोमा १ सक्ष् ४७ सदस्य रहन्छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा गठन भएको सात महिना पुगिसकेको छ । पछिल्लो समय प्रदेशको नेतृत्व एकपक्षीय ढंगले चयन भएको भन्दै नेकपामा असन्तुष्टि बढेको छ । नेता नेपाल र अर्का नेता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । पोलिटब्युरो गठनमा ढिलाइ भएकोमा पनि नेपाललगायतका नेताले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । 

यसैबीच प्रदेश कमिटीलाई पूर्णता दिने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने काम सोमबार टुंगो लाग्ने नेताहरुले बताएका छन् । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने कामको जिम्मा अध्यक्षद्वय ओली र दाहाललाई दिएको थियो । अध्यक्षद्वयले यस विषयमा आइतबार गृहकार्य जारी राखेको बताइएको छ । नेताहरुको अनुसार पूर्वएमालेबाट ५५ र पूर्वमाओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहनेगरी प्रदेश कमिटी गठन हुने भएको छ । प्रदेश कमिटीमा राख्ने नाम सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलको दुई सदस्यीय समितिले प्रस्ताव गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्