जातिवादी भएकाले संयोजकबाट हटाइए ठाकुर : महेन्द्रराय यादव



काठमाडौं : राजपा नेपालको संयोजकबाट हटाइएका महन्थ ठाकुरविरुद्ध अध्यक्षमण्डलका एक सदस्यले चर्को टिप्पणी गरेका छन् । छ दल एकीकरणपछि गठित राजपामा अध्यक्षमण्डल संयोजक बनाइएका ठाकुरको पदीय जिम्मेवारी खोसिएको केही दिन नबित्दै अध्यक्षमण्डल सदस्य महेन्द्रराय यादवले ठाकुर विचारहीन र जातिवादी रहेको आरोप लगाएका छन् ।

 

राजधानीको एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै यादवले ठाकुरले जातिबिरादर, करकुटुम्ब र नातागोतालाई प्रश्रय दिएकाले पार्टी संयोजकबाट हटाइएको बताए । ठाकुर आफ्नो जात र समूहबाट माथि उठ्न नसकेको नेता भएको आरोप यादवले लगाए । नेता ठाकुरमा राष्ट्रिय विचार, राष्ट्रिय चरित्र र राष्ट्रिय चिन्तन नरहेको टिप्पणी यादवले गरे । उनले भने, ‘ठाकुरजीमा राजनीतिक सोच, चिन्तन र दूरदृष्टि छैन । हामीले मानेकाले नै यतिका लामो समयसम्म उहाँ पार्टी संयोजक रहनुभयो ।’ खालि मधेसमात्र हेरेकाले आफूहरूले ठाकुरलाई संयोजकबाट हटाएको उनको दाबी थियो ।

 

ठाकुरले सामूहिक जिम्मेवारीको धर्मविपरीत पार्टीमा एकल जातीय हिसाबले एकलौटी निर्णय गर्दैआएको र पार्टीभित्र प्रतिनिधित्व गराउने सवालमा समानुपातिक समावेशी निर्णय नगरेकाले चक्रीय प्रणालीमा पार्टी नेतृत्व सञ्चालन गर्नुपरेको यादवले बताए । ‘अध्यक्षमण्डलका कुनै पनि सदस्यसँग सल्लाह नगरी ठाकुरले पार्टीमा जातीयकरण गर्नुभयो, जसले पार्टीको लोकप्रियता घट्यो र पार्टीका लागि रातदिन काम गर्नेको उत्साह तथा वैचारिक धरातल कमजोर भयो ।’

 

यादवले फोरम र एमालेलाई सहयोग गर्ने तथा पार्टीविरोधी काम गर्नेलाई ठाकुरले एकल निर्णयले महासचिव बनाएको आरोप लगाए । अध्यक्षमण्डल सदस्य यादवले सैद्धान्तिक र वैचारिक हिसाबले आफूसँगै शरत्सिंह भण्डारी, राजकिशोर यादव र पछि आएर राजेन्द्र महतोले राजपा नेपाल गठन गरेको र आफूहरूले नै ठाकुरलाई हात समाएर पार्टीमा ल्याएको बताए । उनले भने, ‘यो हाम्रो मिसन हो । ठाकुरजीलाई ल्यायौं । अनिलकुमार झा कहाँबाट हो कुन्नि आफैं आए ।’ अब पार्टीमा टीके प्रथा चल्ने बताउँदै यादवले भने, ‘ठाकुरलाई राजकिशोर यादवको नेतृत्व मान्नुपर्छ ।’ एक प्रश्नको उत्तरमा उनले ठाकुरले पार्टी फुटाउन नसक्ने बताए । ठाकुरसँग भएका हृदयेश त्रिपाठीलगायतका नेताकार्यकर्ता कम्युनिस्टमा पसिसकेको र अरूहरू पनि यताउता भइसकेको उनको भनाइ थियो । उनले अध्यक्षमण्डलका सदस्य पालैपालो नेतृत्व लिने वैधानिक व्यवस्थाका कारण राजेन्द्र महतो दुई महिनाका लागि पार्टी संयोजक हुने प्रस्ट्याए ।

प्रतिक्रिया दिनुहोस्