राजपा विवाद उत्कर्षमा : ठाकुर पक्षधरको सोमबार बैठक



काठमाडौं : संयोजक फेरिएपछि राजपाभित्र विवाद चर्केको छ । महन्थ ठाकुर संयोजकबाट हटाइएपछि उनी पक्षधर नेताकार्यकर्ताले आगामी रणनीति बनाउन सोमबार बैठक डाकेका छन् । पछिल्लो समीकरणअनुसार राजपामा ठाकुर अल्पमतमा परेका छन् ।

ठाकुर पक्षधर केन्द्रीय सदस्य तथा अन्य नेताहरुको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ । बैठक बिजुलीबजारस्थित तत्कालीन तमलोपा कार्यालयमा बस्ने ठाकुर पक्षधर एक नेताले बताए । ठाकुर पक्षधर नेता वृशेषचन्द्र लाल बैठक आयोजनाका लागि क्रियाशील भएका छन् । ठाकुर पक्षधर नेताहरुले उनलाई विधान देखाएर एकाएक संयोजकबाट हटाइएको आरोप लगाएका छन् । 

पछिल्लो समय राजपाभित्र समीकरण बदलिएपछि बहुमतको आडमा ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक बनेका छन् । विगतमा साथ दिँदै आएका महेन्द्रराय यादव र राजकिशोर यादव महतोका पक्षमा लागेपछि ठाकुर अल्पमतमा परेका हुन् । राजपा अध्यक्षमण्डलका ६ सदस्यमध्ये शरत्सिंह भण्डारी यसअघि नै महतोका पक्षमा थिए । पछिल्लो समय ठाकुरका पक्षमा अनिल झामात्रै देखिएका छन् । ठाकुरले पार्टीमा एकलौटी रुपमा नियुक्ति गर्न थालेपछि उनलाई संयोजकबाट हटाइएको महतो पक्षधर नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्