ठाकुर पक्ष ‘पर्ख र हेर’को रणनीतिमा, सोमबारको भेला स्थगित



काठमाडौं : महन्थ ठाकुर संयोजकबाट हटाइएपछि उनी पक्षधर नेताकार्यकर्ताले आगामी रणनीति बनाउन सोमबारका लागि बोलाएको भनिएको भेला स्थगित भएको छ । संयोजक फेरिएपछि राजपाभित्र चर्किएको विवाद र आगामी रणनीतिबारे छलफल गर्न भेला आह्वान गरिएको थियो । 

बिजुलीबजारस्थित तत्कालीन तमलोपा कार्यालयमा तय भएको ठाकुर पक्षधर केन्द्रीय सदस्य तथा अन्य नेताहरुको बैठक तत्कालका लागि स्थगित भएको ठाकुर निकट एक नेताले द नेपालटपलाई जानकारी दिए । 

संयोजक फेरिएपछि राजपाभित्र विवाद चर्केको छ । ठाकुर पक्षधर नेताहरुले उनलाई विधान देखाएर एकाएक संयोजकबाट हटाइएको आरोप लगाएका छन् । 

पछिल्लो समय राजपाभित्र समीकरण बदलिएपछि बहुमतको आडमा ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक बनेका छन् । 

पछिल्लो समीकरणअनुसार राजपामा ठाकुर अल्पमतमा परेका छन् । विगतमा साथ दिँदै आएका महेन्द्र राय यादव र राज किशोर यादव महतोका पक्षमा लागेपछि ठाकुर अल्पमतमा परेका हुन् । राजपा अध्यक्षमण्डलका ६ सदस्यमध्ये शरतसिंह भण्डारी यसअघि नै महतोका पक्षमा थिए । 

पछिल्लो समय ठाकुरका पक्षमा अनिल झा मात्रै देखिएका छन् । ठाकुरले पार्टीमा एकलौटी रूपमा नियुक्ति गर्न थालेपछि उनलाई संयोजकबाट हटाइएको महतो पक्षधर नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्