‘सरकारमा जान खोज्नेले राजपामा संयोजक फेरे’



काठमाडौं : राजपा नेपालको अध्यक्षमण्डल संयोजकबाट हटाइएका महन्थ ठाकुर पक्षधर नेताकार्यकर्ताको प्रारिम्भक निष्कर्ष छ ः मधेस मुद्दालाई थाती राखेर सरकारमा जान चाहने शक्तिका प्रभावमा परेर पार्टीमा संयोजक परिवर्तनको चलखेल भएको हो । 

संविधान संशोधन, मधेस आन्दोलनक्रममा आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता, कैदीबन्दीको जीवन व्यतीत गरिरहेका मधेस आन्दोलनकारीलाई रिहा गर्नुपर्नेलगायत माग गरेका यी पवषय सम्बोधन नभए राजपाले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने जनाउँदै आएको थियो । 

सोही सन्दर्भमा राजपा अध्यक्षमण्डलको गत मंगलबारको बैठक बोलाइयो । तर, बैठकमा अप्रत्याशित ढंगले अध्यक्षमण्डल संयोजक हटाउने निर्णय गरियो । पार्टीमा सामूहिक नेतृत्व स्थापित गर्ने नाममा चक्रीय प्रणालीमा नेतृत्व गर्ने वैधानिक परिपाटी ब्युँताएर राजेन्द्र महतो नयाँ संयोजक बने । 

मधेस आन्दोलनपछिका अन्योलपूर्ण दिनहरूमा मधेसी जनताको एउटै आकांक्षा थियो–‘मोर्चाबन्दी गरेर आन्दोलनमा होमिएका मधेसकेन्द्रित दलहरू एकजुट बनुन् ।’ ससाना आकारमा छरिएर रहेका ती दलहरूमा थ्रेसहोल्डको त्रास पनि उत्तिकै थियो । र, मधेसकेन्द्रित दलहरू बृहत् राजनीतिक शक्ति बन्ने र राष्ट्रिय स्वरूप प्राप्त गर्ने बाटोमा हिँडे । 

जसको नेतृत्व गर्ने जिम्मेवारी छ दलमध्ये सबैभन्दा ठूलो तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिइयो । ठाकुरले पनि उदारता देखाए । उनी आफूनिकट हृदयेश त्रिपाठीलगायतका नेताहरूको कद घटाए । उनीहरूलाई राजनीतिक अवसरबाट वञ्चित तुल्याए । 

यसकै प्रतिफल थियो, त्यागी र आन्दोलनप्रति दृढ नेताका रूपमा चिह्नित गरेर पार्टी गठनका बेला नै एकीकृत पार्टीको नेतृत्व ठाकुरले गर्ने र समग्र नेतृत्व पद्धति सामूहिक हुने समझदारी भयो । गत असारमा पार्टी राजनीतिक समितिको बैठक बस्यो । जसमा सहभागीहरू दुई धारमा विभाजित भए । 

एउटा पक्ष पार्टीभित्र विद्यमान अध्यक्षमण्डल पद्धतिको पक्षपोषण गर्‍यो भने पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत होस् भन्ने चाहना भएकाहरू महाधिवेशनसम्म ठाकुर नेतृत्वमा पार्टी सञ्चालन हुने र त्यसपछि निर्वाचनको प्रक्रियाबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा उभिए । 

सशक्त राजनीतिक विकल्प बन्नेगरी पार्टी महाधिवेशनको प्रक्रिया आरम्भ भयो । आगामी वैशाख ७, ८ र ९ गतेका लागि महाधिवेशनको मिति तोकियो । सदस्यता वितरण आरम्भ भयो । 

यता पार्टीको राजनीतिक लाइन र आन्दोलनको भावनाअनुरूप संविधान संशोधनलगायतका मुद्दा पूरा गराउन सत्तापक्षसँग निरन्तर संवाद सुरु गरियो । तर, संवादको यो प्रक्रिया कहिल्यै असंदिग्ध रहेन । 

पार्टी अध्यक्षण्डलका बहुसंख्यक सदस्य जसरी भए नि सरकारमा सहभागी हुनुपर्ने आकांक्षी थिए । र, यसै इच्छाबाट परिचालित भएर न्यूनतम र प्रतीकात्मक रूपमा भए पनि माग सम्बोधन भएको छनक दिएर सत्तासीन हुन चाहन्थे । 

त्यसका लागि सरकारसँग सुविधाजनक सहमति हुने अपेक्षा लिए । तर, केपी शर्मा ओली नेतृत्वको सरकार राजपासँग सहमति गर्ने पक्षमा देखिएन । सरकारसँग दुइटा बाध्यता थिए । 

एउटा, मधेस आन्दोलनविरोधी जनमतका आधारमा प्रचण्ड मत ल्याउनु अर्को सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम संलग्न भइसकेको हुनु । 

त्यसैले पनि मधेस मुद्दाका उपयुक्त समयमा उचित निर्णय गर्ने सरकारको रणनीति रह्यो । यस्तोमा शून्य उपलिब्धबिना सरकारमा जानुपर्ने स्थिति राजपाका लागि बन्यो । ठाकुर संविधान संशोधनलगायतका माग सम्बोधन नभई कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा रहे । 

जसकारण उनीसँग सरकारमा जाने पक्षधर अध्यक्षमण्डल सदस्यहरू विस्तारै चिढिँदै गए । उनीहरूको एउटै भनाइ थियो–वातावरण बनाऊँ, सरकारमा जाऊँ । तर, ठाकुरले सरकारमा सहभागिताको विषयलाई खासै महत्व दिएनन् । 

पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल भन्छन्, ‘पार्टीभित्र सामूहिक नेतृत्वको परिभाषा नै गलत ढंगले गरियो । सामूहिक नेतृत्व भनेको नियमको नेतृत्व वा संस्थागत नेतृत्व हुनु हो ।’ 

मधेस मुद्दाप्रति प्रतिबद्ध आन्दोलनकारी पार्टीकर्मीले राजपालाई चैते बन्न दिन हुँदैन भन्ने कुरा उठाउन थालेपछि जनाधारविहीन नेताहरूमा डर र हडबडी पैदा भयो र त्यसकै परिणामस्वरूप अहिलेको असहज अवस्था उत्पन्न भएको लालको विश्लेषण छ । 

राजपा विधानमा संयोजक परिवर्तन गर्ने व्यवस्था छ । तर, अध्यक्षमण्डलको निर्णय सर्वसम्मत हुनुपर्छ भन्ने अर्को प्रावधान पनि छ । तर, अध्यक्षमण्डल संयोजक परिवर्तन गर्ने बैठकको केही समयपछि नै अत्यन्त शालीन र मृदुभाषी नेता ठाकुरजीविरुद्ध अध्यक्षमण्डलकै एक सदस्यले आपत्तिजनक शब्दहरू बर्साउनाले असहज स्थिति बनाएको लालले बताए । 

अध्यक्षमण्डल सदस्य महेन्द्रप्रसाद यादवले ठाकुर जातिवादी रहेको आरोप लगाएका छन् । ‘वास्तवमा यो हाम्रा लागि असह्य छ । हामी वास्तविक सूचना संकलन गरिरहेका छौं । छलफल गर्दैछौं । यसपछाडिका रहस्यबारे खोजीनीति गर्दैछौं,’ उनले भने । 

महेन्द्र रायको आरोपबारे नेता लाल

सत्य हो कि राजपा अध्यक्षमण्डल बैठकमा बहुमतबाट चक्रीय प्रणालीमार्फत नेतृत्व गर्ने निर्णय भएपछि ठाकुरजीले हस्ताक्षर गर्नुभयो । तर, त्यो परिस्थिति निकै असहज थियो । ठाकुरजीले संयमता अपनाउनुभयो । तर, हतार कस्तो रहेछ भने निर्णय सार्वजनिक गर्न पार्टीको लेटरप्याडसमेत प्रयोग गरिएन । 

अध्यक्षमण्डलका एक सदस्यले ठाकुरजीले नातागोतालाई महत्व र अवसर दिनुभयो भन्ने कुरा उठाउनुभएको छ । यस सन्दर्भमा नातागोताको कुराभन्दा पनि व्यक्तिको योगदानलाई बिर्र्सन हुन्न । पार्टी र आन्दोलनमा योगदान पुर्‍याउने व्यक्तिलाई नातागोताको दृष्टिले हेर्नु भनेको उहाँहरूको अपमान गर्नु हो । 

हेर्नु पर्ने कुरा भनेको अमुक व्यक्तिले पार्टी वा आन्दोलनमा योगदान दिएका छन् कि छैनन् । ठाकुरजीले नजिकका व्यक्तिलाई विभिन्न पदमा नियुक्त गरे भन्ने छ । उहाँले संयोजकका रूपमा सबै नियुक्तिमा हस्ताक्षर गर्नुभएको हो । 

तर, नियुक्ति भने अध्यक्षमण्डलका सदस्यहरूबीच भएको सहमतिबाटै गरिएको हो । असारको राजनीतिक समिति बैठकमा अध्यक्षमण्डल सदस्य राजेन्द्र महतोजीले नै चुनावताका पार्टीबाट अलग्गिएकाहरूलाई पार्टीमा ल्याउन आह्वान गर्ने प्रस्ताव गर्नुभएको थियो । 

त्यसअनुरूप आह्वान भएको हो । महतोजीले नै सप्तरीका जयप्रकाश ठाकुरजीको घरमा गएर महासचिव बनाउने बाचा गरेर पार्टीमा ल्याउनुभएको हो । जबकि ठाकुरजीले जयप्रकाशजीको नियुक्तिपत्रमा हस्ताक्षर गर्न केही दिन आलटाल गर्नुभएको थियो । 

माओवादीबाट धनुषाका अरविन्द साह आउनुभयो । महतोजीकै सिफारिसमा उहाँलाई सहमहासचिव बनाइयो । त्यसैले हस्ताक्षरकर्ता भएकै कारणले ठाकुरजीमाथि दोष थुपार्न मिलेन । ठीक छ मनोनयनमा त्रुटि भयो भने अध्यक्षमण्डल बैठकमा छलफल गरिनुपर्थ्यो । ती नियुक्तिलाई खारेज गरिनुपर्थ्यो । तर, संयोजक परिवर्तन गर्ने काम गरियो । 

ठाकुरजीलाई संयोजकबाट हटाउनु भनेको मधेस मुद्दामाथिको आक्रमण हो । किनकी संविधान संशोधनका पक्षधर नेतालाई तारो बनाइएको छ । अहिले हामी छलफल र संवादक्रममा छौं । यसबाट धेरै कुरा खुलेर आउँछ । त्यसपछि हामी हाम्रो रणनीति तय गर्नेछौं ।

अध्यक्षमण्डलका एक सदस्यको पछिल्लो अभिव्यक्तिले प्रस्ट पारेको छ कि उहाँहरूले हामी अहिले ठाकुरजीभन्दा अलगथलग भएर हिँडिरहेका छौं भन्ने सन्देश दिन खोज्नुभएको छ । निर्वाचन जितेर आएको शैलीमा जसरी प्रदर्शन गरिएको छ त्यो पनि ठीक होइन । यस्तो शैलीले राम्रो परिणाम दिँदैन । 

जनकपुरमा लाखौंलाख मानिस जुटाएका नेताको कालान्तरमा बिरालोजस्तो हबीगत भएको हामीले हेरेका छौं । जनताको स्नेह, समर्थन र विश्वसनीयताका आधारमा नेता बन्न सकिन्छ । भीड जुटाएर होइन । 

मन्त्री परिवर्तन भए विद्रोह

प्रदेश २ सरकारमा सहभागी सबै मन्त्री पार्टी र आन्दोलनका खटिएका नेता हुन् । त्यसैले मन्त्री परिवर्तन गर्ने प्रस्ताव आउँदैन । यदि यो प्रस्ताव आयो भने आन्दोलनकारी नेताकार्यकर्ता एकजुट भएर विरोध गर्नेछन् । 

संसदीय दलको नेतामा ठाकुर नै 

संसदीय दलको नेता चयन गर्ने आफ्नै प्रक्रिया छ । सांसदहरूले नेता बनाउने हो । ठाकुरजी दलको नेता हुनुहुन्छ र रहनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्