संयोजक फेरिएपछि राजपामा विवाद चर्कियो



काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपालको संयोजक फेरिएपछि आन्तरिक विवाद चर्किन थालेको छ । पार्टीको विधानविपरीत अध्यक्षमण्डलको संयोजक फेरिएको भन्दै विवाद सुरु भएको हो । विवादकै कारण पूर्वसंयोजक महन्थ ठाकुर र संयोजक राजेन्द्र महतोको पक्ष र विपक्षमा नेताहरू आरोप–प्रत्यारोपमा देखिएका छन् ।

 

ठाकुर पक्षमा नेताहरूले निर्णय सच्याउनुका साथै अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले ठाकुरबारे बोलेका भनाइप्रति माफी माग्नुपर्ने माग राखेका छन् । तर, महतो पक्षमा नेताहरूले ठाकुरले पार्टी एकलौटी रूपमा चलाएको र पूर्वतमलोपाहरूले नियुक्ति पाउन थालेपछि असन्तुष्टि बढेको बताएका छन् ।

 

राजपा महासचिव केशव झाले संयोजक फेर्ने विषय सामान्य र विधानअनुसार भएको बताए । पार्टी विधानमा चक्रीय प्रणालीअनुसार दुई–दुई महिनामा संयोजक फर्ने उल्लेख भएको जानकारी दिए । तर, उनको भनाइप्रति असहमति जनाउँदै केन्द्रीय सदस्य डा. सुरेन्द्र झाले पार्टीको विधान उल्लंघन गरी बहुमतका आडमा प्रक्रियाविपरीत संयोजक फेरिएको दाबी गरे ।

 

प्रक्रियामाथि विवाद

राजपाको विधानमा पार्टीका हरेक निर्णय सर्वसम्मतिले गर्ने भनिएको छ । गत मंगलबारको अध्यक्षमण्डलको बैठकले बहुमतका आधारमा राजेन्द्र महतोलाई संयोजक तोकेको थियो । विधानमा हरेक दुई महिनामा संयोजक फेरिने र चक्रीय प्रणालीअनुसार संयोजक हुने व्यवस्था छ । पार्टी स्थापनापछि १८ महिना महन्थ ठाकुर अध्यक्षमण्डलको संयोजक बने ।

 

संसदीय दलको नेता चयन, पार्टीको केन्द्रीय सदस्य नियुक्ति, संसदीय दलको प्रमुख सचेतक नियुक्तिलगायतका विषयमा राजपाभित्र विवाद थिए । महतोलाई संयोजक बनाउने पक्षमा शरतसिंह भण्डारी, महेन्द्रराय यादव र राजकिशोर यादव लागेका थिए । ठाकुरको पक्षमा भने अनिल झा मात्रै देखिए । अहिले ठाकुर पक्षका नेताहरूले महतो संयोजक भएको प्रक्रिया नै गलत भएको भन्दै उक्त प्रक्रिया सच्याउनुपर्ने पक्षमा रहेको नयाँपत्रिकामा खवर छ ।

 

ठाकुरनिकट नेता डा.झाले संयोजक परिवर्तन गर्ने प्रक्रिया नै गलत भएकाले तत्काल सच्याउनुपर्ने बताए । ‘एकातिर प्रक्रिया मिचिएको छ अर्कोतिर संयोजक ठाकुरलाई काम गर्न नसकेको भनेर अभियोग लगाइएको छ,’ झाले नयाँ पत्रिकासँग भने, ‘यी सबै कुरा तत्काल सच्याउनुपर्छ ।’

 

भद्रगोल नियुक्तिले विवाद

पार्टीको विधान तय भएर निर्वाचन आयोगमा बुझाइसकेपछि पनि नेताहरूले आफूअनुकूल केन्द्रीय सदस्यदेखि महासचिवसम्म नियुक्त गरेका छन् । यसले पनि अध्यक्षमण्डलका सदस्यबीच तनाव देखिएको थियो । विनोद सिंहलाई महासचिव मनोनीत गरेको विषय विवादमा आइरहेका वेला पुरुषोत्तम झा र शशीकपुर मियालाई महासचिव बनाएपछि थप राजपामा समस्या बल्झिएको छ । झा र कपुर संघीय समाजवादी फोरमका नेता हुन् ।

 

त्यसैगरी, महासचिवमा जयप्रकाश ठाकुर र सहमहासचिवमा परेमश्वर साह, अरविन्द साह, कुमारनाथ मिश्रलगायतका नेताहरूलाई जिम्मेवारी तोक्दा पार्टीभित्र कुनै सल्लाहसमेत नभएको नेताहरूले बताएका छन् । यसबीचमा महासचिवमा आठजना, सचिवमा तीनजना र सहमहाचिवमा तीनजना र केन्द्रीय समितिमा करिब २५ जनाले नियुक्ति पाएका छन् । अध्यक्षमण्डलका सदस्यहरूले पद बाँड्दै हिँडेकाले ती नियुक्ति भद्रगोल भएको नेता झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्