मन्त्रीबाट हटाइएका स्थापित अनुगमनका लागि रसुवामा



रसुवा : प्रदेश ३ को भौतिक पूर्वाधारमन्त्रीबाट हटाइएका केशव स्थापित अनुगमनका लागि रसुवा आएका छन् । मन्त्री हुँदा प्रदेशबाट रसुवाका लागि बनाइएका योजनाको कार्यान्वयन अवस्था हेर्न आएको स्थापितले बताए । 

उनले भने, ‘रसुवा धेरै सम्भावना भएको जिल्ला हो, म मन्त्री हुँदा यहाँका लागि धेरै योजना छुट्टाएको थिएँ, त्यसैले मन्त्रीबाट हटे पनि यहाँका लागि बनाइएका योजना आफैँ हेर्न आएको हुँ ।’ समृद्ध रसुवा निर्माणका लागि धेरै सम्भावना रहेकाले प्रदेशले छुट्याएको बजेटको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

जिल्लाको प्रदेश ‘क’मा पर्ने क्षेत्रको अवलोकन भ्रमणका लागि प्रदेश सांसद प्रभात लामा नेतृत्वमा स्थापितसहित पाँच सदस्यीय टोली जिल्ला आएको हो । एक सातासम्म जिल्लामा रहने टोलीले गोसाइँकुण्ड र नौकुण्ड गाउँपालिकामा अनुगमन गर्ने बताइएको छ । 

प्रदेशबाट चालू आर्थिक वर्षका लागि स्वीकृत भएको योजना उपयुक्त भए–नभएको, समयमै योजना सम्पन्न गर्न र बजेटको सदुपयोग गर्न स्थलगत अनुगमन गरिरहेको सांसद लामाले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्