रुस र युक्रेनबीच तनाब बढ्यो



काठमाडौं : रुस र युक्रेनबीच तनाब बढेको छ । रुसले क्रिमीयाई प्रायद्वीपको नजिक युक्रेनको तीनवटा नौसैनिक जहाजमा हमला गरेर उनीहरुलाई आफ्नो कब्जामा लिएको छ । घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेदार भएको आरोप लगाएका छन् ।

 

रुसले युक्रेनको जहाज आफ्नो जलसीमा आजोव सागरमा गैरकानुनी ढंगले छिरेको दाबी गरेपछि यो विवाद उत्पन्न भएको हो । घटना लगत्तै रुसले कर्चमा तंग जलमार्गको एक पुलको तल टयांकर तैनाथ गरेर आजोव सागरतर्फ जाने बाटो बन्द गरिदिएको थियो ।

 

आजोव सागरको जलीय सीमा रुस र युक्रेनबीच बाँडिएको छ । युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंकाले आफ्नो देशको राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा परिषदको बैठकमा रुसी कदमलाई सनकयुक्त कारबाहीको संज्ञा दिनुभएको छ ।

 

युक्रेनले जारी गरेको वक्तव्यमा रुसी कारबाहीमा आफ्नो चालक दलका दुई सदस्य घाइते भएको बताएको छ । घटनाका सम्बन्धमा वार क्याविनेटको जरुरी बैठक बोलाइएको युक्रेनी राष्ट्रपतिका प्रवक्ताले जानकारी दिएका छन् । रुसले भने युक्रेनको दाबीसम्बन्धमा अहिलेसम्म थप कुनै प्रतिक्रिया दिएको छैन । यसअघि रुसले युक्रेनको नौसेना गैरकानुनी तरिकाले आफ्नो जल सीमामा प्रवेश गर्ने गरेको अरोप लगाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्