तराईको क्षति रोक्न पहाडसँग हातेमालो



कालिकोट : पहाडमा पहिरो र तराईमा बाढी । समस्या उस्तै, अवस्था फरक । पहाडबाट पहिरोसँगै आउने बाढीले तराईमा डुबान र कटान निम्त्याउँछ । पहाडभन्दा तराईमा क्षति पनि बढी हुुने गरेको छ ।

पहाडी जिल्ला हुँदै तराई झर्ने कर्णाली नदीले तराईमा बर्सेनि विध्वंस मच्चाउँछ । कर्णालीलगायतका नदीनालाले पहाडमा पनि समस्या पारिरहेकै छ ।

 

वर्षायाममा उर्लिएर झर्ने कर्णालीबाट सबैभन्दा बढी पीडित छन् बर्दियाको राजापुरवासी । वरिपरि कर्णाली नदीको भँगालोले टापु बनाएको राजापुरमा वर्षा लागेपछि सधैं बाढीको त्रास हुन्छ । अरू बेला जंगली जनावरको डर । 

तराईको क्षति न्यूनीकरणमा पहाडी जिल्लाको भूमिका खोज्दै राजापुर नगरपालिकाको एउटा टोली कालिकोट सदरमुकाम मान्म आइपुगेको छ । मान्मभन्दा केही तलबाट बग्छ कर्णाली ।

राजापुर कर्णालीवासीको परम्परागत हाटबजार हो । सडक नहुँदा कर्णालीवासी हिउँदमा १५/२० दिन हिँडेर नुन, तेल, लत्ताकपडा लिन राजापुर झर्थे । अहिले सडकले सजिलो बनाइदिएको छ ।

राजापुरबाट आएको १० जनाको टोलीले नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिसँग आफ्ना समस्या राख्यो । दुई पालिकाका जनप्रतिनिधिले संयुक्त जलकचहरी राखेर पानीका कारण निम्तिएका साझा समस्या र समाधानको उपायबारे छलफल गरे । र, संयुक्त कार्ययोजना तयार पारे ।

कार्ययोजनामा कर्णाली जलाधारभित्रका ठूला आयोजनाले पार्ने प्रभावबारे सरकारको ध्यानाकर्षण गराउने, पानी, पोखरी र सिमसार क्षेत्रको संरक्षण गर्ने, जलाचर प्राणी संरक्षण नीति बनाउने, चरिचरन र सामुदायिक वन व्यवस्थापन नीति बनाउने, भूउत्खनन रोक्ने, जथाभावी ढुंगा, बालुवा निकासीलाई व्यवस्थित गर्ने, जडीबुटी संरक्षण र खेती गर्ने उल्लेख छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्