
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार चौथो चरणका खेल सुरु हुँदैछन् । बिहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा त्रिभुवन आर्मी र संकटा क्लब भिड्ने छन् ।
यसअघिका तीन वटै खेल जितेको संकटा अंकतालिकाको दोस्रो स्थानमा छ भने दुई जित र एक बराबरी गरेको आर्मी तालिकाको चौथो स्थानमा छ ।
दिउँसो साढे २ बजे हुने खेलमा न्युरोड टिम एनआरटी र थ्रीस्टार भिड्दैछन् । थ्रीस्टारले यसअघिका तीनमध्ये दुई खेल जितेको छ भने एक खेल हारेको छ। एनआरटीले भने तीन मध्ये एक खेल बराबरी मात्रै गरी एक अंक जोडेको छ ।
दिउँसो साढे २ बजे नै सशस्त्र प्रहरीको हलचोक मैदानमा हुने खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।