तीन कराेडकाे लागतमा अाकाशेपुल बन्ने



बागलुङ :  गण्डकी प्रदेशका तीन जिल्लामा तीन करोडको लागतमा तीन आकाशेपुल निर्माण शुरु गरिएको छ । मानिसको बढी आवातजावत हुने बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका ठूला खोंच र नदीमाथि आकाशे पुल निर्माणको काम शुरु गरिएको हो । 

 

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत तीनवटै पुल निर्माणका लागि हिमशिर निर्माण कम्पनीलाई जिम्मा दिएको छ । २०७६ वैशाखभित्र तीन वटै पुल सक्ने गरी काम शुरु गरेको निर्माण कम्पनीका नरहरि खड्काले जानकारी दिए । तीन करोडमा पुलको ठेक्का सम्झौता भएको छ ।

 

बागलुङ नगरपालिका–५ मालिकादेखि म्याग्दीको बेनी नगरपालिका–२ को बीचमा रहेको ठूलो खोंचमाथि २६० मिटर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित कालीगण्डकी नदीमाथि १२१ मिटर र मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङस्थित कालीगण्डकी नदीमा १६५ मिटर लम्बाइको आकाशे पुल निर्माण हुनेछ । 

 

तीन ठाउँमा निर्माण हुन लागेका तीन वटै पुल फरक प्रविधिबाट निर्माण गर्न लागिएको निर्माण कम्पनीका खड्काले जानकारी दिए । उनका अनुसार बागलुङ र म्याग्दी जोड्ने पुल ओपन प्रविधि, म्याग्दीको गलेश्वरमा निर्माण हुने एन टाइप प्रविधि र मुस्ताङको छुसाङमा निर्माण हुने पुल डी टाइप प्रविधिमा निर्माण हुनेछ । 

 

नेपाल सरकारले मानिसको बढी आवातजावात हुने खोंच तथा नदीमाथि आकाशे पुल निर्माण गर्ने नीतिअनुसार निर्माणको काम शुरु गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । पुल निर्माण भए धेरै जनतालाई आवातजावतमा सहजता आउने बागलुङ नगरपालिका –५ का वडाध्यक्ष शिव सापकोटाले जानकारी दिए 

प्रतिक्रिया दिनुहोस्