प्रदेश २ : छलफल नै नगरी विधयेक पास गराउन खाेजिएकाे भन्दै नेकपा सांसदद्वारा विराेध



जनकपुरधाम : छलफल नै नगरी प्रदेशसभामा करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पास गराउन खोजेको भन्दै प्रदेश २ सभामा नेकपा सांसदहरूले विरोध गरेका छन् । जसका कारण प्रदेश २ को आइतबारको बैठक अवरुद्ध भएको थियो ।

 

विधेयकमा छलफल नै नगरी प्रदेशसभामा प्रस्तुत गर्न खोजिएको भन्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले विरोध जनाएका थियो । 

 

आफूहरुले संशोधनको माग गरे पनि विधेयकलाई पारित गर्ने कार्यसूची राखिएपछि त्यसको विरोध गरिएको नेकपाका सांसदहरुले बताएका छन् । नेकपाका सचेतक सांसद सुन्दरबहादुर विश्वकर्माले आफूहरुले सो प्रस्तावमाथि संशोधन गर्न माग गरे पनि विधेयक पारित गर्ने कार्यसूचीमा राखिएपछि विरोध गरेको बताए । प्रदेशसभामा नेकपाका सांसदहरुले उठेरै विरोध गरेका थिए । 

 

आफूहरुले दर्ता गराएको संशोधन प्रस्ताव बेवास्ता गर्दै मुख्य न्यायाधीवक्तालाई भर्ना सिफारिस समितिको संयोजकमा राखिकालेले विरोध गर्नुपरेको नेकपा संसदीय दलका नेता रामचन्द्र मण्डलले बताए ।

 

सांसद विश्वकर्माले मुख्य न्यायाधीवक्ताको मर्यादाको ख्याल नगरी कर्मचारी सिफारिस समितिको संयोजक बनाइएको भन्दै आपत्ति जनाएका थिए । उनले संविधानको धारा ९७ को गलत व्याख्या गरेर मुख्य न्यायाधीवक्तालाई कर्मचारी सिफारिस समितिको संयोजक बनाइएको प्रति आरोप लगाए ।

 

नेकपाका सांसदहरुले आफूहरुले दर्ता गरेको संशोधन प्रस्ताव टेबुल नभएसम्म संसद् चल्न नदिने अडान लिएका थिए । सांसदहरु आफ्नो स्थानमा उभिएर बैठकको कारबाही चल्न नदिने भएपछि सभामुख सरोजकुमार यादवले पटक पटक बस्न आग्रह गरेका थिए ।

तर, प्रमुख प्रतिपक्षीले नमानेपछि सभामुखद्वारा १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । सभामुखले प्रमुख प्रतिपक्षी दलको मागलाई हेर्दै कार्यसूचीबाट करारमा कर्मचारी भर्नासम्बन्धी बनेको विधेयकमाथिको छलफलको प्रस्ताव र पारित गर्ने प्रस्ताव हटाइएको जानकारी गराएपछि बैठक सूचारु भएको थियो ।

 

करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक र विषयगत समितिका सभापति निर्वाचनसम्बन्धी प्रस्ताव कार्यसूचीबाट हटाइएपछि सञ्चालन भएको बैठकमा सरकारले दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबारको बैठकमा प्रस्तुत गरेको छ ।

 

बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद रुवीकुमारी कर्णले सप्तरीमा पाँच जनाको ज्यान जाने गरी भएको दुर्घटनाको उदाहरण प्रस्तुत गदै प्रदेशमा सडक दुर्घटनामा वृद्धि भए पनि प्रदेश सरकारको त्यसतर्फ कुनै ध्यान नगएको गुनासो गरेकी थिइन् । 

यस्तै कांग्रेसका शिवचन्द्र चौधरीले मंसिर २६ गते जनकपुरधाममा मनाइने रामजानकी विवाह महोत्सवमा लाखौँ मान्छे सहभागी हुन जनकपुरधाम आउने हुँदा नगरक्षेत्रमा प्रवेश गरिने नाकाहरूमा अस्थायी शौचालय निमार्ण गरी नगरलाई प्रदूषणमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

प्रदेशसभा बैठकबाट स्वीकृत भइसकेको यस विधेयकउपर आगामी बैठकमा छलफल हुने बताइएको छ । प्रदेश सभाको अर्को बैठक आज १ बजे बस्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्