एकसाथ दुई भजनसंग्रह लिएर आए कुमार



काठमाडौं : पेसाले इन्जिनियर भएकाले कुमार भट्टराई प्राविधिक कुरासँग बढी नजिक छन् । साथसाथै उनी राम्रा गीत सिर्जना गर्छन् । उनी विशेषगरी भजन गीतकारका रुपमा बढी परिचित छन् । उनै गीतकार भट्टराईद्वारा लिपिबद्ध दुईवटा भजन संग्रह प्रज्ञाप्रतिष्ठानको सभाहलमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शुक्रबार एकैसाथ विमोचन गरे ।

सो अवसरमा कोइरालाले साहित्यकार भट्टराईको लेखनीको प्रशंसा गरे । कार्यक्रममा विश्व हिन्दु महासंघका दामोदरप्रसाद गौतम, पूर्वमन्त्री एसबी कोइराला, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलगायत उपस्थित थिए ।

विमोचित एलबममा निकै मर्मस्पर्शी भजन संग्रह गरिएका छन् । यसअघि पनि भट्टराईले एउटा एलबम सार्वजनिक गरिसकेका छन् । उनले २०७१ मा अग्रता नामक एलबम बजारमा ल्याएका थिए । 

नयाँ एलबम ‘शिव लीला’ र ‘अग्रता काली’ हिन्दु धर्मसँग सम्बन्धित नेपाली भजन संग्रह हुन् । ‘शिव लीला’ एलबममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्मा ग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एलबममा मनोजराज शिवाकोटी, ईश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ । दुवै एलबममा ६÷६ वटा गीत समावेश छन् । सबै गीतमा बिजु बज्रको संगीत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्