जाडो मौसममा लाग्ने रोगबाट कसरी बच्ने ?



बदलिँदो मौसम आफूसँगै कतिपय रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडो याममा रोगबाट आफूलाई सुरक्षित राख्न सकिन्छ । जाडो याममा देखिने स्वास्थ्य समस्या र तीबाट बच्ने उपायबारे जानकारी भए आफूमात्र नभएर परिवारका सदस्यलाई पनि स्वस्थ राख्न सकिन्छ ।

 

रुघा, खोकी तथा ज्वरो

रुघा, खोकी तथा ज्वरो ऋतु परिवर्तनका बेलामा प्रायः धेरैमा देखिन्छन् । शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई यी समस्याले समातिहाल्छन् । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र खाएपछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो ।

यस अवस्थामा बिरामीलाई संक्रमणबाट चाँडै निको पार्न एन्टिएलर्जिक होमियोप्याथिक औषधि रोगीको लक्षणअनुसार दिइन्छ । यसका अलावा बाफ लिनु, नुनपानीले कुल्ला गर्नु लाभदायक हुन्छ । संक्रमित भएको अवस्थामा तातो झोलिलो पदार्थ बढी मात्रामा प्रयोग गर्नुपर्छ । चिसो पानी पिउनुहुँदैन । तुरुन्त गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानुहुँदैन । बाइक वा स्कुटर चलाउने बेलामा नाक, मुख छोप्ने गरी हेलमेट लगाउनुपर्छ । कोल्ड ड्रिंक, आइसक्रिमबाट टाढा रहनुपर्छ । यस मौसममा केटाकेटी र बुढापाकाको विशेष ख्याल राख्नुपर्छ ।

 

दम

दम एक किसिमको एलर्जिक रोग हो । दमबाट पीडित बिरामीको समस्या जाडोमा बढ्न सक्छ । रातको समयमा, चिसो बढेका बेला तथा जाडोमा एलर्जीको संक्रमण हुने सम्भावना बढी हुन्छ । अतः दमका रोगीहरू एलर्जिक तत्व तथा चिसो हावाबाट बच्नुपर्छ । धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न आवश्यक हुन्छ । दमका रोगीले नियमित सेवन गर्ने औषधि साथमै राख्नुपर्छ । औषधि चिकित्सकको सल्लाहबिना बीचमा छाड्नुहुँदैन ।

 

जोर्नीको दुखाइ

वृद्धवृद्धामा बदलिँदो मौसममा हातखुट्टाका जोर्नी दुख्ने समस्या देखिन्छ । चिसो बढेको बेला जोर्नीको दुखाइ जसलाई पनि हुन सक्छ । तर वृद्धवृद्धाको हड्डी कमजोर हुने भएका कारण चिसोले उनीहरुलाई बढी सताउँछ । अर्थराइटिस, सानो जोर्नी र घुँडाको दुखाइ असहनीय हुन्छ । यसबाट बच्न सकेसम्म चिसो हावामा बाहिर निस्किनुहुँदैन । जोर्नीमा सेक्न पट्टी या हट ब्याग प्रयोग गर्न सकिन्छ ।

यस्तो दुखाइबाट बच्न नियमित सामान्य किसिमको व्यायाम गर्नुपर्छ । होमियोप्याथिक औषधिको साथसाथै योग तथा फिजियोथेरापी गर्दा पनि जोर्नीको दुखाइबाट आराम मिल्छ । साथै नियमित औषधि सेवन गरिराख्ने तथा चिकित्सकसँग बेला–बेलामा सम्पर्क गरी स्वास्थ्य परीक्षण गराइरहनुुपर्छ ।

रोग तथा रोगको अवस्थाअनुसार प्रयोग हुने केही औषधि यस्ता छन् :

रुघा, खोकी, ज्वरोको लक्षणअनुसार प्रयोग हुने – एकोनाइट, रसटक्स, ब्रायोनिया, डल्कामारा, फेरम फाँस, जल्समियम आदि ।

 

टन्सिलमा प्रयोग हुने– बेलाडोना, बराइटाकार्ब, फाइटोलेक्का आदि ।

 

जोर्नीको दुखाइमा प्रयोग हुने– एकोनाइट, रसटक्स, ब्रायोनिया, कस्टिकम आदि ।

 

दमको लक्षणअनुसार प्रयोग गरिने औषधि– एकोनाई, पल्साटिला, नेट्रम सल्फ आदि ।

ध्यान दिनुपर्ने कुरा के छ भने यहाँ उल्लेख गरिएका मात्र होइन, कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना प्रयोग गर्नुहुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्