जनकपुरधाम : प्रदेश २ को प्रदेशसभाले सार्वजनिक प्रशासनका लागि आवश्यक कर्मचारी करारमा भर्ना गर्न प्रदेश सरकारलाई बाटो खोलिदिएको छ । प्रदेशसभाको सोमबारको बैठकले सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक २०७५ पारित गरेको छ । प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुनेछ ।
बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए । प्रदेश २ का मन्त्रीहरुले कर्मचारी नहुँदा विकास निर्माणका काम प्रभावित भएको गुनासो गर्दै आएका थिए । केन्द्रबाट पर्याप्त कर्मचारी नखटाइएको र प्रदेशमा कर्मचारी नियुक्त गर्न कानुनी बाटो नभएको उनीहरुको गुनासो थियो ।