सरकारलाई डा. गोविन्द केसीको चेतावनी : माग पूरा नगरे फेरि अनशन



काठमाडौं : चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले विगतमा आफूसँग सरकारले गरेको सम्झौता पुस २ गतेसम्म पूरा गर्न आग्रह गरेका छन् । तोकिएको समयभित्र माग पूरा नभए फेरि अनशन बस्ने चेतावनी उनले दिएका छन् । 

उनले सोमबार पत्रकार सम्मेलन गरी विगतमा आफूसँग गरेका सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले चिकित्सा शिक्षा विधेयक अघि बढाउने प्रक्रियामा विगतको सम्झौता उल्लंघन गर्नेगरी चलखेल भए आफू कुनै पनि बेला अनशन बस्न सक्ने स्पष्ट पारेका छन् ।

केसीको माग सूचीमा निर्मला पन्त हत्याको विषय पनि परेको छ । उनले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । उक्त घटनामा प्रमाण लोप गर्ने, झुटो प्रमाण बनाउने, निर्दोषलाई फसाउन यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाउनेलाई फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् । डा. केसी मेडिकल शिक्षामा सुधारको माग राखी यसअघि नै १५ पटकसम्म अनशन बसिसकेका छन् ।

 

यस्ता छन् डा. केसीका माग

१. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।

क. सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसद्बाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।

ख. गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिवि पदाधिकारीलगायतका व्यक्तिलाई तत्काल सिफारिसबमोजिम बर्खास्तीलगायत कारबाही गरियोस् । त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरू पुनः सो संस्थानमै फिर्ता गरियोस् ।

ग. सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम तीव्र गतिमा अघि बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस् ।

२. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुटो प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

३. नेपाल सरकारको निर्णय उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिन लगाई दोषी पदाधिकारीमाथि कारबाही गरियोस् ।

 

प्रतिक्रिया दिनुहोस्