चितवनकाे रत्नगरमा अाैषधि बाेकेकाे ट्रकमा अागजनी : विप्लवका कार्यकर्तामाथि प्रहरीकाे अाशंका



रत्ननगर : चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा अज्ञात समूहले  आगजनी गरेको छ । बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ । चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडाँै औषधि लिएर जाँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो ।

आगजनी गर्ने समूहको पहिचान नभए पनि आज विप्लव नेतृत्वको माओवादीले बन्दको हल्ला फैलाएकाले उनीहरुले नै जलाएको अनुमान प्रहरीले गरेको छ । घटनाको अनुसन्धान भइरहेको र आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । समयमै प्रहरी पुगेकाले धेरै क्षति हुन पाएन ।

 

यसैबीच बन्दको हल्लासँगै आज जिल्लामा प्रहरीले बिहानैदेखि स्कटिङमा यातायात सञ्चालन गरेको छ । चितवन आउने र चितवनबाट जाने सवारीलाई बिहानैदेखि स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्