फास्ट ट्रयाक निर्माणकाे काम तत्काल राेक : कांग्रेस नेता बडू



काठमाडौं : कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । बडूले ललितपुरस्थित खोकना, बुङमतीलगायत स्थानीय जनताको मागलाई सम्बोधन नगरेसम्म द्रुतमार्ग निर्माणको काम अघि नबढाउन सरकारसँग अनुरोध गरे । 

 

सोमबार सो फास्ट ट्रयाक निर्माणका सम्बन्धमा संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हन् । खोकना र बुङमतीका जनताको माग तत्काल सम्बोधन नगरे आयोजनाले भयावह मोड लिनेतर्फ पनि उनले सरकारलाई सचेत गराए । 

मुआब्जालगायत माग सम्बोधन नभई राष्ट्रिय गौरवको आयोजनाको काम सुरु गरिने भएको भन्दै खोकना र बुङमतीवासीले आक्रोश पोख्दै आएका छन् । नेता बडुले यस सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीलाई समितिको बैठकमा बोलाउनुपर्ने आवश्यकता पनि औंल्याए । 

बैठकमा संघीय समाजवादी फोरमका नेता राजेन्द्रप्रसाद श्रेष्ठले पनि फास्ट ट्रयाक निर्माणको नाममा सरकारले खोकना र बुङमतीका जनतालाई आतंकित बनाउने काम गरिरहेको आरोप लगाए । नेता श्रेष्ठले सरकारले स्थानीय जनताको माग सम्बोधन नगरी सेनालाई उक्त काम अघि बढाउन निर्देशन दिएको भनी प्रश्न पनि गरे ।

 

राज्य व्यवस्था तथा सुशासन समितिले खोकना र बुङमतीका स्थानीय जनताको पीडालाई सम्बोधन गर्न सरकारलाई दबाब दिन फास्ट ट्रयाकको स्थलगत अनुगमनको कामसमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्