थ्री स्टार र पुलिस विजयी



काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा न्यू रोड टिम (एनआरटी)लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि थ्री स्टारले खेलको ७५औँ मिनेटमा रञ्जित धिमालको गोलबाट अग्रता लिएको थियो ।

थ्री स्टारका खेलाडी अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । 

एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाए पनि रञ्जितले रिबाउण्डमा आएको बललाई गोलमा परिणत गरेका थिए । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । रञ्जितले ब्रिगेड ब्वाइज र मनाङ विरुद्ध पनि गोल गरेका थिए । 

दोस्रो हाफको इञ्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारको जीत पक्का गरे । मिडफिल्डर सुनिल बलले दिएको हेडर पासमा मार्टिन्सले हेडरमार्फत नै गोल गरेका थिए । 

जीतसँगै थ्री स्टारले चार खेलमा नौ अङ्क जोडेको छ । एनआरटी भने लगातार तेस्रो हारपछि चार खेलमा एक अङ्कमै रहेको छ ।

लगातार दुई खेल जितेर उत्कृष्ट सुरुआत गरेको थ्री स्टार पछिल्लो खेलमा मनाङ मर्स्यांदी क्लबसँग पराजित भएको थियो । एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अङक बाँड्नुबाहेक त्यस यता राम्रो खेल्न सकेको छैन । 

यसै गरी आजै हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको अर्को खेलमा च्यासल युथ क्लबलाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ ।

पुलिसको जितमा खेलको ३८औँ मिनेटमा रवि पासवानले गोल गरेका थिए । त्यसै गरी खेलको ८८औँ मिनेटमा भरत साहले गोल गर्दै पुलिसको जीत सुनिश्चित गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्