‘टान’मा पर्यटन मजदूरको तालाबन्दी



काठमाडौं : तलब वृद्धिको माग गर्दै पर्यटन क्षेत्रका तीन मजदूर सङ्गठनले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा तालाबन्दी गरेका छन् । 

युनिट्राभको नेतृत्वमा पर्यटन श्रमिक सङ्घ र अखिल नेपाल पर्यटन मजदूर सङ्घले सोमबार संयुक्तरुपमा तालाबन्दी गरेका हुन् । गत साउनमा तलब भत्ता, बीमा, चाडपर्व भत्तालगायत विषयमा पर्यटन मजदूरले टानसमक्ष सात सूत्रीय माग राखेका थिए ।

आफ्ना मागको सुनुवाइतर्फ टान कार्यसमिति एवम् पदाधिकारी उदासीन भएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।  

पथप्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाइएको टिप्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, चाडपर्व खर्चका साथै विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग पर्यटन मजदूरको छ । 

पटक–पटक ध्यानाकर्षण गराउँदासमेत टानले श्रमिकको जायज मागलाई ध्यान नदिएको र सरकारले वृद्धि गरेको तलब भत्तासमेत नपाएको भन्दै तालाबन्दीको विकल्प नभएको श्रमिकको भनाइ छ । आगामी तीन दिनसम्म पनि माग पूरा नभए देशभरि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्