मापदण्डविपरित सञ्चालित पानी उद्योगमा सिलबन्दी



जनकपुरधाम : जनकपुरमा सञ्चालित पानी उद्योगको अनुगमनलाई तीव्र पारिएको छ । यसै क्रममा सोमबार मापदण्ड विपरीत सञ्चालित तीन उद्योगमा अनुगमन टोलीले सिलबन्दी गरेको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयको संयुक्त  अनुगमन टोलीले जनकपुर–७ मा रहेको अम्बर धारा, वडा ८ मा रहेको महामाया धारा प्रा.लि. र वडा नं. ४ मा रहेको ग्लोबल एकता पानी उद्योगमा सिलबन्दी गरेको हो । 

सिल गरिएको पानी उद्योगहरु मापदण्ड विपरीत सञ्चालन हुनुका साथै पानी जाँच गराएर लिनुपर्ने अनु ज्ञापन नवीकरण नगराएको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश साहको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रवीण कुमार तिवारी, घरेलु तथा साना उद्योग कार्यालयबाट जितेन्द्र प्रसाद सिंह, प्रहरी र सञ्चारकर्मी सहभागी थिए । 

यस अघि आइतबार गरिएको अनुगमनमा वडा नं. ८ मा रहेको स्टाइलिस एक्वा प्रा.लि. र गंगाजल पानी उद्योगमा अनुगमन पश्चात्  सिलबन्दी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्