‘जहाज खरीदमा अनियमितता भए कारबाही’



पोखरा : संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिदमा अनियमितता भएको पाइए जोसुकैलाई पनि कडा कारबाही गरिने बताएका छन् । 

सोमबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले वाइड बडी विमान खरिद प्रक्रियाका सबैलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेका हुन् ।

उनले भने, “यस विषयमा सार्वजनिक लेखा समितिलगायत विभिन्न समितिले छानबिन गरिरहेको छ, छानबिनका क्रममा दोषी देखिए जो कोही पनि उम्कन पाउँदैनन्, कारबाहीको दायरामा आउँछन् ।” 

मन्त्री अधिकारीले सत्यभन्दा बाहिर गएर हल्लाले नेपाल एयरलाइन्सलाई असफल पार्ने षड्यन्त्र हुन सक्ने आशङ्का गर्दै एयरलाइन्सलाई प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि मन्त्रालय तयार रहेको बताए । 

कार्यक्रममा मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना र विनियोजित रकम सार्वजनिक गरेका थिए । सो कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा चार करोड रुपैयाँका योजना सार्वजनिक गरिएको थियो । 

सडक पूर्वाधारमा रु दुई करोड ३५ लाख, खानेपानीमा रु ७० लाख, कुलो, ढल र पक्की पुलमा रु ५० लाख, भवनमा रु २० लाख तथा खेलमैदान र उद्यानमा रु २५ लाख विनियोजन गरिएको अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीले निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्