मलखाद र बीउबिजन उपलब्ध गराउन सरकार गम्भीर : मन्त्री साह



जनकपुरधाम : प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कृषिमा व्यवसायीकरण तथा यान्त्रिकीकरण र एकीकृत खेतीमा जोड दिए मात्रै प्रदेश समृद्ध बन्ने बताएका छन् ।

कृषि ज्ञान केन्द्र धनुषाद्वारा जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय निकायले एकीकृत खेती योजना ल्याए प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले बताए ।

किसानका लागि सिँचाइ व्यवस्थापन र बीउ तथा मलखादको सहज उपलब्धता नभएको समस्या रहेको भन्दै मन्त्री साहले ती जम्मै समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन उपाय गरिने उल्लेख गरे । 

प्रदेश २ कृषिका लागि उर्वर भूमि भए पनि संघीय सरकार र केही कर्मचारीको बदनियतका कारण यहाँका किसानले पर्यात मलखाद पाउन नसकेको उनले सुनाए । अहिले मलखादको व्यवस्थापन संघीय सरकारले नै गरिरहेकाले यसको उपलब्धता जटिल बनेको उनको आरोप थियो ।

मन्त्री साहले किसानका लागि प्रदेश सरकारसँग अनुदानका धेरै कार्यक्रम भएको जानकारी दिँदै युवा लक्षित माछा, गाई र कुखरा पालनसँग सम्बन्धित कार्यक्रम ल्याउन स्थानीय तहका प्रतिनिधिसँग आग्रह गरे ।

कार्यक्रममा सहभागी नगरपालिका र गाउँपालिका प्रमुखहरूले किसानले भोग्दै आएका मलखाद, सिँचाइ र बीउको समस्यालाई निराकरण गर्न प्रदेश सरकारले ठोस योजना ल्याउनुपर्र्ने बताए ।

उनीहरूले अहिले पनि किसानहरू आकाशे खेती गर्न बाध्य भइरहेकाले सिँचाइ व्यवस्थापन हुनुपर्ने र  मलखाद तथा बीउबिजनको सहज आपूर्ति गरिनुपर्ने माग गरे । उनीहरूले किसानका आधारभूत समस्या समाधान भए दोब्बर अन्नबाली उत्पादन हुने पनि बताए । 

कार्यक्रममा धनुषाका नगरपालिका र गाउँपालिकाका प्रमुखहरू, धनुषाका प्रमुख जिल्ला अधिकारी, जिल्ला पशु सेवाका कर्मचारी, कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्