असुरक्षित सडक सडकले लान्छ वर्षमा दुई हजारको ज्यान



काठमाडौं:  हरेक वर्ष बढ्दो सवारी दुर्घटनाका कारण सर्वसाधारणको यात्रा असुरक्षित बन्दै गइरहेको छ । सवारीसाधन तथा बाटोघाटोको सही व्यवस्थापन हुन नसक्दा दुर्घटनामा वार्षिक २ हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरेको गृह मन्त्रालयको तथ्यांक छ । हरेक वर्ष सवारी दर्ता हुनेक्रम बढ्दो छ तर सरकारले त्यसलाई व्यवस्थापन गर्न सकिरहेको छैन । दुर्घटना न्यूनीकरणका लागि सरकारले न त सवारीसाधनको सही व्यवस्थापन गर्न सकेको छ, न त बाटोघाटोको व्यवस्थापन नै ।

 

६ मंसिरमा डढेल्धुरामा स्कुल बस दुर्घटना हुँदा १७ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएका थिए । त्यस्तै, सो घटनाको भोलिपल्टै सप्तरीमा यात्रुवाहक बस खस्दा पाँच जनाको अकालमा ज्यान गयो भने २४ जना घाइते भए । यी त प्रतिनिधि घटना मात्रै हुन् । सरकारले सडक तथा सवारीसाधनको उचित मर्मत सम्भार तथा व्यवस्थापन गर्न नसक्दा यस्ता घटना हरेक दिनजसो बढेको बढ्यै छन् । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ सम्म ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन् । मुलुकभरि गुड्ने यतिका सवारीसाधनलाई सरकारले सही व्यवस्थापन गर्न सकेको छैन ।

 

सरकारले २० वर्ष पुराना सवारी सञ्चालनमा रोक लगाएको भए पनि कमजोर व्यवस्थापनका कारण पूर्ण रूपमा लागू हुन सकेको छैन । यातायात विभागका प्रवक्ता गोकर्ण उपाध्यायले सार्वजनिक सवारी अनुगमन तथा व्यवस्थापनमा सरकार चुकेको स्विकारे । उनले भने, ‘हामी सार्वजनिक सवारी व्यवस्थापनमा चुकेका छौं ।’अहिले मुलुकभर यातायात विभागमा जम्मा ८ सयको हाराहारीमा मात्रै कर्मचारी छन् । तर, मुलुकभरका सवारी संख्या भने ३२ लाखभन्दा बढी छ । थोरै कर्मचारीका कारण प्रभावकारी रूपमा अनुगमन तथा सवारी व्यवस्थापन गर्न समस्या भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

 

विभागका अनुसार कुल सवारीको ९० प्रतिशत व्यक्तिगत सवारीसाधन छन् । तिनीहरूको व्यवस्थापन गर्न झनै जटिल हुने गरेको उपाध्यायले बताए । सवारी दर्ता बढेको तर त्यसको तुलनामा स्रोतसाधन तथा जनशक्ति नबढेकाले व्यवस्थापनमा समस्या परेको उनले बताए । यतिका सवारी गुड्ने मुलुकका सडकको हालत हेर्ने हो भने निकै दयनीय छ । मर्मत सम्भार गरेको भए पनि सुधारमा उल्लेख्य प्रगति भएको छैन । जसका कारण सवारी दुर्घटना बढिरहेका छन् भने त्यसको असर सर्वसाधारणले भोग्नुपरेको राजधानीमा खवर छ ।

 

आखिर कहिलेसम्म यस्तो अवस्था रहन्छ ? सर्वसाधारणले कहिले गर्न पाउँछन् त सुरक्षित यात्राको महसुुस ? सम्बन्धित निकायका अधिकारीहरू कहिले बजेट अभाव त कहिले जनशक्ति अभावलगायतका विभिन्न कारण देखाउँदै पन्छिने गरेका छन् । सडक विभागका प्रवक्ता मुक्ति पौडेलले बिग्रे भत्केका बाटोघाटो मर्मत सम्भारका लागि वार्षिक १५ अर्ब रुपैयाँ बजेट आश्यक पर्ने भए पनि मुस्किलले ४ अर्ब मात्रै उपलब्ध हुने गरेकाले प्रभावकारी रूपमा काम गर्न समस्या परेको बताउँछन् । उनले भने, ‘बजेट कम उपलब्ध हुँदा बाटोघाटोको मर्मत सम्भार गर्न समस्या भइरहेको छ ।’

 

तर, विभागको क्षमताले भ्याउनेगरी विभिन्न स्थानमा मर्मत सम्भार गरिरहेको उनले बताए । मुलुकका विभिन्न स्थानमा लगभग २० प्रतिशत बाटोघाटोमा सवारी चल्न नसक्ने अवस्था रहेको प्रवक्ता गौतमले बताए । सरकारले बिग्रे भत्केका बाटोघाटो मर्मत सम्भार गर्न आवश्यक बजेट उपलब्ध गराएको अवस्थामा सडक दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।त्यस्तै, सवारी दुर्घना न्यूनीकरण गर्न विभिन्न प्रयास गरिरहेको ट्राफिक प्रहरीका सहायक प्रवक्ता दामोदर सिलवालले बताए । बाटोघाटोको अवस्था हेरेर सवारी चलाउनेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सिलवालले बताए । नेपालमा अधिकांश सवारी दुर्घटना चालकको कारणले हुने भएकाले चालकलाई विशेष रूपमा सचेत गराउने गरेको उनले बताए ।

दुर्घटनामा कुन वर्ष कति मानिस मरे ?

आर्थिक वर्ष २०६८÷६९ – १,८३७

आर्थिक वर्ष २०६९÷७० – १,८१६

आर्थिक वर्ष २०७०÷७१ – १,७८७

आर्थिक वर्ष २०७१÷७२ – २,००४

आर्थिक वर्ष २०७२÷७३ – २,००६

आर्थिक वर्ष २०७३÷७४ –२,३८४

आर्थक वर्ष २०७४÷७५– २,०९७

प्रतिक्रिया दिनुहोस्