एम्बुलेन्सविहीन अञ्चल अस्पताल, बेकामे आईसीयू



महेन्द्रनगर: महाकाली अञ्चल अस्पताल दुई बर्ष यता एम्बुलेन्स बिहिन बनेको छ । पहिले अञ्चल अस्पताल संग भारतीय दुतावासले दिएको एक मात्र एम्बुलेन्स थियो । त्यो एम्बुलेन्स दुई बर्ष अगाडि नै बिग्रीएर थन्किए पछि अस्पताल संग अहिले कुनै पनि एम्बुलेन्स छैन् । अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले भने ‘हामीले सरकार संग पटक पटक माग गर्यौ, तर पनि हाम्रो माग कहिले पुरा भएन । एम्बुलेन्स मात्रै होइन महाकाली अञ्चल अस्पताल ६ बर्ष देखि कार्यालय प्रमुख बिहिन समेत बनेको छ ।’

 

महाकाली अञ्चल अस्पताललाई टिचिङ्ग हस्पिटल बनाउने प्रतिबद्धता गरेर प्रतिनिधीसभाको चुनाव जितेका डा. दिपकप्रकास भट्टले हाल सम्म अस्पतालको लागि केहि गर्न नसकेको स्थानीयहरुको आरोप छ । तर डा. भट्ट भने अस्पतालको गुणस्तर उकास्नका लागि आफुले सक्दो प्रयास गरिरहेको बताए । ‘मैले सक्दो पहल गरिरहेको छु । अब अञ्चल अस्पताल केन्द्र सरकार भन्दा पनि प्रदेश सरकार संग जोडिएको छ । त्यसो भएको हुनाले मैले पनि प्रदेश सरकार संग समेत समन्वय गरिरहेको छु ।’

 

बिशेषज्ञ डाक्टर नै छैनन्

सरकारले अञ्चल अस्पतालमा दरबन्दी अनुसारका डाक्टर पठाउन सकेको छैन । हाल अस्पतालमा ३ जना बिशेषज्ञ डाक्टर मात्र कार्यरत छन । यद्यपी २७ जना डाक्टरको दरबन्दी अस्पताललाई छ । जसमा १८ जना भने बिशेषज्ञ डाक्टरको हो । बिशेषज्ञ डाक्टरको अभाव हुँदा अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन । हाल अस्पतालमा महिला तथा स्त्री रोग बिशेषज्ञ, हाडजोर्नी बिशेषज्ञ र सर्जन बाहेक अन्य बिशेषज्ञ डाक्टर नभएको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताएको समाचारपत्रमा खवर छ ।

 

आईसियूसेवा आफै आईसियूमा

अञ्चल अस्पतालले दिने भनेको ‘आईसियू’ सेवा आफै ‘आईसियू’मा जस्तै भएको छ । अर्थात आईसियू सेवा हाल सम्म पनि सुचारु हुन सकेको छैन । दुई वर्ष अगाडि नै ‘आईसियू’का उपकरणहरु जडान गरिए पनि सेवा सुरु हुन नसेको हो । ‘आईसियू’ सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति नहुँदा सेवा सञ्चालनमा आउन नसेको निमित्त प्रमुख हिक्मत श्रेष्ठ बताउँछन् ।

 

उनले भने,‘आईसियूका लागि आवश्यक सबै उपकरण जडान गरेर तयारी अवस्थामा छ तर हामीसँग डाक्टरहरु छैनन्, त्यसैले सञ्चालनमा आएको छैन ।’ यदि दक्ष जनशक्ति भएमा आजैदेखि ‘आईसियू’ सञ्चालन गर्न सकिने उनले बताए । आईसियू सञ्चालनका लागि फिजिसियन ,एनएस थेसियन एक÷एक जना, बाल रोग बिशेषज्ञ र केहि नर्स भए आईसियू सञ्चालन गर्न सकिने उनि बताउँछन् । अञ्चल अस्पतालका समस्याको बारेमा सरकारलाई जानकारी गराउँदा पनि आश्वासन मात्र पाउने गरेको उनले गुनोसो गरे ।

प्रतिक्रिया दिनुहोस्