पूर्वउपराष्ट्रपति झाले तिरेनन् ६७ हजार



काठमाडौं : बेरुजु रकम जम्मा ६७ हजार रुपैयाँ एक सय । बेरुजु गर्ने अधिकारी पूर्वउपराष्ट्रपति परमानन्द झा । फर्स्योटका लागि चार वर्षदेखि लगातार ताकेता । तर, बेरुजु रकम अहिलेसम्म फर्स्योट भएको छैन । यो स्थितिले हाम्रा उच्चपदस्थहरू बेरुजु रकम  फर्स्योट गर्न कति अग्रसर हुँदा रहेछन् भन्ने देखाउँछ । बेरुजु रकम फिर्ता गर्ने विषयमा पूर्वउपराष्ट्रपति झा र उपराष्ट्रपति कार्यालयबीच अहिले विवाद चुलिएको छ ।

 

स्थापनाको ८ वर्षसम्म बेरुजु नराख्ने कार्यालयमा दरिएको थियो, उपराष्ट्रपति कार्यालय । लेखापालले तत्कालीन उपराष्ट्रपति झाको तलबबाट आयकर कट्टी नगर्दा त्यही रकम बेरुजु देखियो । बेरुजु रकम असुल्न महालेखा परीक्षकको कार्यालयले बारम्बर भनिरहेको छ । बेरुजु रकम उपराष्ट्रपति कार्यालयले झाबाट असुल उपर गर्नुपर्र्ने हो । कर्मचारीले बेरुजु रकम असुल उपर गर्न सबै उपाय अपनाइसकेका छन् ।

 

‘०७२ सालदेखि हामीले उहाँलाई चिठी पठाइरहेका छौं । भेटेर पनि भन्यौ । अहिले त पूर्वउपराष्ट्रपतिज्यूले हाम्रो कार्यालयको चिठीसमेत बुझ्न छाडिसक्नुभयो’, उपराष्ट्रपति कार्यालयका अधिकारीले भने । उपराष्ट्रपति कार्यालयका सहसचिव तहबाट निवासमै पुगेर पनि ताकेता भइसकेको अन्नपुर्णमा खवर छ ।

 

सहसचिवले बेरुजु उठाउन ताकेता गर्दा झाको धम्की सुनेपछि चुपचाप फर्के । ‘त्यसपछि घरमा जान छाड्यौं । वर्षको एक पटक चिठी पठाइरहेका छौं । तर, पछिल्लो समय त उहाँले उपराष्ट्रपति कार्यालयको पत्र नै बुझ्न छाड्नुभयो । हामीले अहिले हुलाकबाट चिठी पठाइरहेका छौं’, उपराष्ट्रपति कार्यालयका ती अधिकारीले भने । ‘बेरुजु रकम असुल्न सकेनौं भनेर अर्थ मन्त्रालयअन्तर्गतको बेरुजु फर्स्योट अनुगमन समितिलाई पनि जानकारी दिइसकेका छौं’, ती अधिकारीले भने, ‘उसले केन्द्रीय तहसिल कार्यालयमा लगत राख्न भनेको छ । बेरुजु फर्स्योटको टाउको दुखाइबाट अब मुक्त भइएला कि !’

 

‘मैले आफैं लिएको होइन । तपाईंहरूले गल्ती गर्ने । मैले किन पैसा दिने’, झाले चिठी लिएर जाने कर्मचारीलाई भन्ने गरेका छन् ।  पछिल्लो समय त उनी सरकारले आफूलाई कुनै सुविधा नदिएको जिकिर गर्दै राष्ट्रपति–उपराष्ट्रपतिको सेवा–सुविधासम्बन्धी विधेयक पास गरी आफूलाई दिइने रकमबाट कटाउन भनिरहेका छन् । ‘पदावधि सकिएपछि सरकारले सेवा–सुविधा नदिएकोबारे तपाईंहरूले चासो दिनुभएको छैन । यति रकम फिर्ता नदिएकोबारे सोधीखोजी किन गरिरहनु भा’को छ’, झाले भने।

प्रतिक्रिया दिनुहोस्