१७ सहसचिवसहित १८९ कर्मचारीको सरुवा



काठमाडौं: सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १७ सहसचिवसहित १८९ कर्मचारीलाई सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार खरिदारदेखि सहसचिवसम्मका कर्मचारीको ठूलो संख्यामा सरुवा गरेको हो । प्रदेश र स्थानीय तहमा अहिले पनि कर्मचारी अभाव यथावत् छ । सहसचिव र उपसचिवस्तरका कर्मचारीको छिटोछिटो सरुवा गरी प्रशासनलाई अस्थिर पार्ने गरेको आरोप सरकारमाथि लाग्दै आइरहेको छ ।

 

सरकारले कर्मचारी समायोजन प्रक्रिया थाल्न नसक्दा कर्मचारीहरू स्थानीय तह र प्रदेशमा जान मानिरहेका छैनन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार केन्द्रका विभिन्न निकायमा कार्यरत १११ जना नायब सुुब्बा र खरिदारलाई स्थानीय तहमा सरुवा गरिएको छ । राजनीतिक आस्थाका आधारमा कर्मचारीको फेरबदल गरिएको स्रोतको दाबी छ ।

 

सरुवा भएकाहरूमा प्रशासन र प्राविधिक दुवै समूहका कर्मचारी छन् । यस्तै, मन्त्रालयले अधिकृतस्तरका ३७ जना र उपसचिवस्तरका २४ जना कर्मचारीलाई पनि सरुवा गरेको छ । स्थानीय तहका वडामा ठूलो संख्यामा कर्मचारी अभाव छ । वडा तथा स्थानीय तहमा खरिदार र सुब्बा पठाइएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ ।

 

विभिन्न स्थानीय तहमा छोटो छोटो समयमा प्रमुख प्रशासकीय अधिकृतहरूको फेरबदल भइरहँदा स्थानीय तहको कामकाज प्रत्यक्ष रूपमा प्रभावित भएको गुनासो स्थानीय तहले गर्दै आइरहेका छन् ।

 

१७ सहसचिव को कहाँ  ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश २ का आर्थिक योजना मन्त्रालयका सचिव किरण रुपाखेतीलाई राष्ट्रिय योजना आयोगमा, भूमसुधार तथा व्यवस्थापन विभागका मुक्तिप्रसाद आचार्यलाई प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा, अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा र कम्पनी रजिस्ट्रार कार्यालयका भुवनहरि अर्याललाई प्रदेश २ को मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

 

यसैगरी, गृह मन्त्रालयका गोपालप्रसाद अर्याललाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा, प्रदेश ३ की मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी रुद्रदेवी शर्मालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा र हुलाक सेवा विभागका आनन्दराम रेग्मीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

महिला बालबालिका मन्त्रालयकी राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, संघीय मामिला मन्त्रालयको अतिरिक्तमा रहेका गिरिजा शर्मालाई निर्वाचन आयोगमा, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विष्णुराज ढकाललाई अर्थ मन्त्रालयमा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका महेश अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको राजधानीमा खवर छ ।

 

यसैगरी, संघीय मामिलाको अतिरिक्त समूहका भरत बुढाथोकीलाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा, कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रालयका ढुण्डिराज निरौलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका रामचन्द्र ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका कष्णमुरारी न्यौपानेलाई कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ । प्रदेश ३ को प्रदेश प्रमुखको कार्यालयका शिवलाल तिवारीलाई अर्थ मन्त्रालयमा र अर्थ मन्त्रालयका नारायण सापकोटालाई प्रदेश ३ को प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्