कार्यविभाजन टुङ्गो लगाउन नेकपा बैठक आज



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यको कार्यविभाजनका लागि आज सचिवालय वैठक बस्दैछ । मङ्सिर ८ गते शनिवार बसेको सचिवालयको बैठकमा कार्यविभाजनको बारेमा छलफल सुरु भएको थियो । आइतबार थप गृहकार्य गरी सोमबार त्यसको टुङ्गो लगाउने जानकारी गराइएको थियो ।

 

सचिवालयका लागि केन्द्रीय सदस्यको कार्यविभाजन गरी जनवर्गीय संगठन, प्रदेश समितिको पूर्णता, स्थायी समितिको बैठक लगायतका कार्यसूची तय गरिएको छ ।  पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

 

कार्यविभाजनका लागि गठन भएको कार्यदलले सोमवार थप गृहकार्य गरेको छ । कार्यदलले कार्यविभाजनको टुङगो लगाएपछि सचिवालयमा बुझाउनेछ र त्यसलाई सचिवालयमा बुझाएपछि छलफल गरि टुङगो लगाइनेछ । केन्द्रीय सदस्यको कार्यविभाजन टुङगो लगाउनुभन्दा पहिला पोलिटब्युरोको टुङ्गो लगाउनुपर्ने आवाज पनि पार्टीभित्र उठिरहेको छ तर सचिवालयले केन्द्रीय सदस्यको कार्यविभाजनलाई नै प्राथमिकतामा राखेको छ ।

 

नेकपाले केन्द्रीय तहमा बनाउनुपर्ने पोलिटब्युरो, ३२ विभाग र सल्लाहकार परिषद् लगायतका समिति हालसम्म गठन गरेको छैन । केन्द्रीय कमिटीको एकतिहाइ सदस्य रहने गरी पोलिटब्युरो गठन गर्नुपर्नेछ । नौ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी छ । सङ्गठन विभाग, विदेश मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग र पार्टी स्कुलिङ विभाग लगायतलाई सचिवालयका सदस्यले नेतृत्व गर्ने भनिएको छ ।

 

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिने विषयमा अध्ययन गर्नका लागि कात्तिक ८ गते बसेको सचिवालय बैठकले सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो ।

 

सो कार्यदललाई पोलिटब्युरो, केन्द्रीय विभाग, जनवर्गीय सङ्गठनको टुङ्गो लगाउने जिम्मेवारी दिइएको थिएन । पोलिटब्युरो, केन्द्रीय विभागहरुको टुङ्गो सचिवालयले लगाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्