सर्वेन्द्र खनालले दुबर्इमा सुन तस्कर भेटेका हुन् ?



दुबर्इ : प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल युएई गएका बेला सुन तस्करका आरोपितसँगै भेट गरेको समाचार अहिले चर्चाको विषय बनेको छ । खनालले दुबर्इमा सुन तस्करसँगै पार्टीमा भाग लिएको र सँगै ‘रिट्रिट’ गएको कुरा पनि चर्चाको विषय बनेको छ ।

 

केही सत्य र केही भ्रामात्मक समाचारहरू बजारमा छाएका छन्। सत्य यस मानेमा छन् कि महानिरीक्षक युएई आएका थिए, ईन्टरपोलको ८७औ महासभामा भाग लिन। अर्को सत्य के पनि हो भने उनी एनआरएन युएईको वार्षिक पार्षद भेलामा पनि सहभागी भए।

 

महानिरीक्षक खनालसँगै सिआइबीका निर्देशक डीआईजी नीरज शाही, नेपाल प्रहरीको इन्टर पोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, नेपाल प्रहरीका एसपी देउती गुरुङ साथमा थिए। तर यहीबीचमा खनालले उनले दुबईमा एनआरएन युएईको कार्यक्रममा सुन तस्कर र हुण्डीवालाहरुसँग भेट गरे भन्ने समाचार नेपालमा भाइरल भइसकेको छ ।

 

सत्य समाचारको बारेमा केही लेखौँ।  

‘सामूहिक लगानी, श्रम मैत्री र स्वरोजगार, सामाजिक सुरक्षा, राष्ट्र समृद्धिको आधार’ भन्ने नाराका साथ गत शुक्रवार सम्पन्न एनआरएन एयुएईको कार्यक्रममा नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर फुयाँलको प्रमुख आतिथ्यता थियो। समाचारहरूमा भनिए जस्तो खनाल प्रमुख अतिथि नभई कार्यक्रमको विशेष अतिथिको रूपमा उपस्थित भएका थिए।

 

त्यसै गरी कार्यक्रममा नेपाली दूतावासका श्रम काउन्सेलर भेषराज कार्की, एनआरएनए आईसीसी उपाध्यक्ष कुमार पन्त, मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, आईसीसी सदस्य ठाकुर प्रसाद ढुङ्गाना, आईसीसी सदस्य मनोज श्रेष्ठ, नेपाली  समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, एनआरएन साउदीका राजु सैयदलगायतको विशेष उपस्थिति थियो।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर फुयाँलले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को मूल योजना सफल बनाउन प्रदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सहयोग रहने विश्वास गरेको बताए  । दूतावास श्रमिक मैत्री बन्ने र आगामी सोमबारदेखि युएईका सातवटै प्रान्तमा रहेका केन्द्रीय जेलहरूको भ्रमण गरिने जानकारीसमेत गराए ।

 

कार्यक्रमका विशेष अतिथि कुमार पन्तले गैर आवासीय नेपाली सङ्घ र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनी निर्माण हुने र त्यसले देश विकासमा लगानी गर्ने बताए। उक्त कम्पनीमा ठुला व्यवसायी देखी साना आयस्रोत भएका गैर आवासीय नेपालीहरू लगानी गर्न सक्ने बताए ।

 

कार्यक्रममा मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, आईसिसी सदस्य ठाकुर प्रसाद ढुङ्गाना, आइसिसी सदस्य मनोज श्रेष्ठ, नेपाली  समाज युएईका अध्यक्षचन्द्र प्रसाद सापकोटा, एनआरएन साउदीका राजु सैयद लगायतले शुभकामना मन्तव्य राखेका थिए। आईसीसी सदस्य ढुङ्गाना ३३ केजी सुन काण्डका आरोपित समेत हुन्। जिल्ला अदालत मोरङमा दोस्रो पटक पूरक अभियोग दर्ता गर्दा ढुङ्गानालार्इ पनि प्रतिवादी बनाइएको थियो। उनी अदालतमा उपस्थित भएर १० लाख धरौटी तिरेर छुटेपछि दुबर्इ पुगेका हुन्।

 

अहिलेसम्म उनी प्रत्यक्षरूपमा सुन तस्करीमा संलग्न भएको देखिएको छैन । उनका व्यवसायिक साझेदार बालकृष्ण खड्का र उनीबीचको  कारोबार नै उनलाई आरोप लगाउने आधार बनेको छ। खड्का र सुन काण्डका मुख्य नाइके मानिएको गोरेबीच पटक पटक लेनदेन भएको देखिएपछि खड्कालाई अनुसन्धानको दायरामा ल्याइएको थियो। हाल उनीहरू व्यापारिक साझेदार नरहे पनि उनीहरुबीच लेनदेन बाँकी रहेकाले कारोबार देखिएको ढुङ्गानाको दाबी छ।

 

शुक्रवारको कार्यक्रममा महानिरीक्षक खनाल ढिला गरी पुगेका थिए । उनी पुग्दा नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा बोलिरहेका थिए । सापकोटापछि क्रमशः विजनेस काउन्सिल युएईका डाक्टर असिफअली सिद्धिकी, मध्यपूर्व उपसंयोजक गोपाल कँडेल र आईसीसी उपाध्यक्ष कुमार पन्तले सम्बोधन गरेका थिए। पन्तपछि महानिरीक्षक खनालले सभालाई सम्बोधन गरेका तर समाचारमा उल्लेख गरिएकाहरूले कतै होटेल वा अन्य स्थानमा गएर गोप्य भेट गरे अर्कै कुरा हो, मलाई जानकारीमा छैन । तर कार्यक्रमस्थलमा जसरी तस्करहरूसँग महानिरीक्षकको भेटे भन्ने हल्ला छ त्यो सत्य होइन भनेर मेघराज सापकोटाले अन्नपुर्णमा आलेख लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्