सरकारी जागिर छोडेर रंगमञ्चमा रामनारायण



जनकपुरधाम: हरेक व्यक्तिको सफलताको पछाडी संघर्षको कथा अवश्य हुन्छ । संघर्षवाटै  मैथिली रंगमञ्चमा सफलताको शिखर चुमेका पात्र हुन्, रामनारायण ठाकुर । मैथिली रंगमञ्चमा हाँस्यकलाकारका रुपमा स्थापित ठाकुरलाई सम्झदा उनका प्रशंसकको मन रमाउने गर्छ ।

 

२०१९ साल भदौ ४ गते जनकपुरमा जन्मेका ठाकुर बाल्यकालबाटै कलामा रुची राख्थे । चकचके स्वाभावका कारण बाल्यकालमा अभिभावकवाट धेरै पटक कुटाई खाएको उनि सम्झन्छन् । मध्यमवर्गीय परिवारमा जन्मेका ठाकुरलाई घरको कामकाज समेत गर्नुपर्ने जिम्मेवारी थियो । सब–ओभरसियरसम्म अध्ययन गरेका उनि पढाई सँगै घरको काममा  व्यस्त रहन्थे । स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा उनी नृत्य गर्नुका साथै आफ्नो गायन कला समेत प्रस्तुत गर्थे ।  

 

कलायात्राका प्रारम्भिक दिन सम्झदै ठाकुर भन्छन, ‘मलाई अझै त्यो दिन याद छ एक पटक धनुषाको वभनगामाको सामुदायिक विद्यालयमा भएको सांस्कृतिक कार्यक्रममा मेरो नृत्यलाई दर्शकले औधी रुचाएका थिए । महेन्द्र मलंगीयाले मलाई मिथिला नाट्य मञ्चको संस्था मिनापमा अभिनयको लागि प्रेरित गरेका थिए र आज त्यही प्रेरणाको प्रतिफलले यहाँसम्म छु।’

 

रामनारायणले मिनापमा पनि प्रवेश पाउन सफल भए । शुरु–शुरुमा रामनारायणको अभिनयबाट निराश बनेका अग्रजहरु वभनगामाबाट प्रभावित भएर पुरस्कृत गरे । सोही समयमा दाई लक्ष्मी ठाकुरले थप उत्प्रेरित गरेको उनी सम्झिन्छन् । सोही समयदेखि रामनारायणले कलायात्रामा कहिल्यै पछाडी फर्किएर हेरेनन् । हरेक दिन सफलताको शिखर चुम्दै अघि बढे । । जव स्टेजमा उनको इन्ट्री हुन्छ दर्शकदीर्घामा तालीको गडगडाहट सुरु भइहाल्छ । रामनारायणमा गज्जबको प्रतिभा छ । उनी एक्लै पनि स्टेजमा उभिएर दर्शकलाई हँसाउने ल्याकत राख्छन् ।

 

आफ्नो सफलताबाट उनि त्यति सन्तुष्ट भने छैनन् । उनी भन्छन, ‘रंगमञ्चको लागि मैले जति त्याग गरें त्यो अनुसार परिणाम प्राप्त गर्न त सकिन् तर गाउँका हुने कार्यक्रममा जव आफ्नो नाम उदघोष हुन्छ र स्वागत गर्न आतुर दर्शकलाई देखेर मेरो मन शान्त हुन्छ । म आफुलाई गौरवान्वित ठान्छु।’ अभिनयमा उनको धेरै लगाव छ, त्यसैका लागि आफ्नो जागिर समेत छोडेका छन् । सब–ओभरसियरको पढाई पूरा गरी सिँचाइ बिभाग अन्तर्गत काम गरे । तर त्यहाँ उनी रमाउन सकेनन् । आफ्नो लागि रंगमञ्च नै उपयुक्त ठाने र जागिरवाट बिदा भए ।

 

नेपाली भाषी कलाकार नभएको हुनाले आफुले सरकारी स्तरवाट सहयोग नपाएको उनको बुझाई छ । मैथिलीको अभिनय क्षेत्रमा अमूल्य योगदान दिएका रामनारायणले कयौँ सम्मान र पुरस्कार पाएका छन् । सरस्वती राजनारायण पुरस्कार, युवा नाट्य कला परिषद् उत्कृष्ट अभिनेताको रूपमा समेत उनि पुरस्कृत भएका छन् । साथै रेडियो मिथिला, मैथिल ब्राम्हण समाजले समेत उनलाई सम्मान गरेको छ ।

 

मिथिलाक व्यथा, काठक लोक, चमेली टेली श्रृंखलामा उनले काम गरेका छन् भने मुखीया जी, प्रितमसहितको मैथिली फिल्ममा समेत हास्यँकलाकारको भुमिका निर्वाह गरेका छन् ।  मनारायण सङ्गोर, कथा मिठो सारंगीको, ज्ञान शक्ति अछि सहित रेडियो नाटकमा समेत आफनो आवाज दिएका छन् । उनले छक्का पञ्जा तीन, दहेजलगायत आधा दर्जन नेपाली फिल्ममा पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्