प्रचण्डद्धारा दिल्लीमा राजनितीक भेटघाट सुरु



नेपाल कम्युनिस्ट पार्टी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँ दिल्लीमा राजनीतिक भेटघाट सुरु गरेका छन्। अध्यक्ष प्रचण्डले बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ। भेटका अवसरमा दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो।

पछिल्लो दुई देशका बिचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबिच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरूलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने विषयमा दुवै जना सहमत भएको बताइएको छ।

यसैबिच बिहीबार नयाँ दिल्ली पुगेका उनले त्यहाँ स्थित नेपाली समुदायसँगसमेत भेटघाट गरेका छन्। अध्यक्ष प्रचण्डले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा अखिल भारत नेपाली एकता मञ्च र प्रवासी नेपाली संघका प्रतिनिधिसँग छलफल गरेका थिए।

अजित डेवालसँगको भेटमा भारतमा रहेका नेपालीहरूको विषयमा छलफल भएको उनले नेपाली प्रतिनिधिहरुसँको छलफलका क्रममा जानकारी गराएका थिए। ुभारतस्थित नेपालीहरूको बारेमा पनि पर्याप्त रूपमा छलफल भयो। भारतमा आफ्नै स्वतन्त्र व्यवसाय गर्ने नेपाली, भारतका कलकारखानामा काम गर्ने नेपाली तथा होटलहरुमा काम गर्ने नेपाली साथै तल्लो तहमा काम गर्ने नेपालीहरूको विषयमा उहाँसँग छलफल भयो,ु दिल्ली स्थित नेपाली समुदायहरूसँगको छलफलमा उनले भने, नेपालमा बलियो सरकार बनेको छ। भारतमा पनि बहुमतको सरकार छ। मोदी जीले छिमेक पहिलो नीति लिनु भएको छ यही वेलामा नेपालीहरूका समस्या, भारतको संवेदनशीलता र नेपालको संवेदनशितालाई बुझ्ने यो राम्रो अवसर हो।ु

उनले नेपालको भारतसँगको व्यापार घाटा कम गर्ने अहिले राम्रो अवसर भएकोसमेत बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भारतीय विदेश मन्त्री सुस्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्