काठमाडौं: नेपाल र चीन जोड्ने रसुवागढीस्थित मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको सम्झौता बमोजिम चीन सरकारको सहयोगमा मितेरी पुल पुनर्निर्माण भएको हो ।
१ सय १४ मिटर लम्बाई तथा ९ दशमलब ५ मिटर चौडाई रहेको दुई लेनको पुल हाल सञ्चालनमा रहेको पुलभन्दा ५ मिटर उत्तर पूर्वमा निर्माण गर्न लागिएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पले पुलमा क्षति भएपछि बेली ब्रिज राखेर यातायात सञ्चालन हुँदै आएको थियो ।
पुल निर्माणका क्रममा चिनियाँ कामदारको आवास, पास, कंक्रिट मेसिनका लागि आवश्यक स्थान, पुल निर्माणमा आवश्यक माटो तथा ढुंगा र नेपालतर्फबाट निर्माण सामग्री खरिद गरि ल्याउनुपर्ने भएमा नेपाल सरकारले सहजीकरण गरिदिने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । निर्माण सुरु गरिएको पुल चिनियाँ ठेकेदारले सन् २०१९ को मेभित्र सम्पन्न हुने बताइएको छ ।
२०७२ वैशाखको भूकम्पपछि बन्द तातोपानी नाका पनि पुल निर्माणसँगै खुल्नेछ । चीनले तातोपानी नाका सञ्चालनमा ल्याउँदैन कि भन्ने आशंका भइरहँदा मितेरी पुल पुनर्निर्माण गरेर उक्त नाका सञ्चालन गर्ने संकेत गरेको हो । व्यापारिक नाका तातोपानी बन्द भएपछि नेपाली व्यापारीमात्र नभई नेपाल केन्द्रित चिनियां व्यापारीलाई समेत नोक्सान भएको छ ।