गुजरातमा ४ अर्ब ठगी, पोखरामा पक्राउ



पोखरा: भारतको गुजरातमा नक्कली कम्पनी खडा गरी २ सय ६० करोड भारतीय रुपैयाँ  अर्थात ४ अर्ब १६ करोड नेपाली रुपैयाँ घोटाला गर्ने ठग पोखरामा पक्राउ परेका छन् । भारतको अहमदाबाद केन्द्रित 'पोन्जी घोटाला'का मास्टर माईन्ड विनय साह पोखराको एक होटलबाट पक्राउ परेका हुन् ।

 

प्रहरीको अपराध अनुसन्धान विभागले भारतको अपराध अनुसन्धान विभाग सिआईडी र विशेष अनुसन्धान दस्ता एसआईटीका अधिकारीको सहयोगमा विनयलाई लेकसाइडको  होटलबाट पक्राउ गरिएको हो । विनयको साथमा रहेकी नेपाली महिला चन्दा थापा पनि पक्राउ परेकी छन् । दुवैजना राजस्व अनुसन्धान विभागको हिरासतमा छन् ।

 

पोखरा प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर, भारतीय रुपैयाँ, इङल्याण्डको पाउण्ड तथा युरो गरी ३१ लाख २८ हजार ७ सय ९ रुपैयाँ बरामद गरेको छ । विदेशी मुद्राको अवैध कारोबारमा मुद्दा अगाडि बढेपछि दुबै आरोपीलाई विभागको जिम्मा लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्