सिरहामा विद्युत् चुहावट अत्यधिक, कारबाही थालेपछि २३ प्रतिशतमा झर्‍यो



लहानः विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशतले चुहावट घटेको छ । २०७४ असोजसम्म ४९ प्रतिशत विद्युत् चुहावट हुँदै आएकोमा अभियान सुरु गरेपछि गत कात्तिकमा चुहावट २३ प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुबेले जानकारी दिए ।

 

गत साउनदेखि कात्तिकसम्ममा विद्युत्को महसुल नबुझाउने एक सय ७३ ग्राहकको लाइन काटिएको उनले बताए । तीमध्ये एक सय ४६ ग्राहकबाट ३० लाख ६८ हजार बक्यौता रकम असुल गरिएको छ ।

 

विद्युत्को बक्यौता रकम समयमा नबुझाउने र समयमै विद्युत् महसुल बुझाउन पटकपटक आग्रह गर्दा समेत बेवास्ता गर्ने ग्राहकको लाइन काट्न थालिएको केन्द्रले जनाएको छ । केन्द्रले साउनदेखि कात्तिकसम्मको अवधिमा हुकिङ गरी विद्युत् चोरी गर्ने एक सय ५४ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।

 

कारबाहीबाट २६ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । सो क्रममा ७१ थान पानी तान्ने मोटर, चार थान टिभी, दुई थान फ्रिज र नौ थान एलसिडीसमेत बरामद गरिएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्