जनकपुरको मूलसडकमै ‘मेलाहाट’



जनकपुरधाम : जनकपुरको रामानन्द चोकदेखिजानकी मन्दिरसम्म झन्डै एक किलोमिटर छ । यसलाई छिचोल्न २० देखि ३० मिनेटसम्म लाग्छ भन्दा अचम्म लाग्छ । तर, यो वास्तविकता हो । 

अव्यवस्थित पार्किङ, जथाभावी राखिएका ठेलागाडा र बटुवाको चापले यस्तो अवस्था सिर्जना भएको हो । जनकपुर अञ्चल अस्पतालअगाडि सडकको अस्तव्यस्तता हेर्दा कुनै मेलाहाट लागेको झैं प्रतीत हुन्छ । 

पुनर्निर्माणक्रममा रहेको जनकपुरधामका बाटाघाटा ठाउँठाउँमा खनिएका छन् । पूर्वाधार निर्माण भइरहँदा सहरभरि आवागमन असहज छ । केही महत्वपूर्ण र संवेदनशील ठाउँसम्म पुग्न जेनतेन बाटो खुलाइएको छ । अस्पतालसम्म पुग्न पनि कच्ची भए पनि पश्चिम रामानन्द चोकबाट बाटो खुला राखिएको छ । तर, अस्पताल परिसरअघि सडक छेक्ने गरी राखिएका ठेलागाडा, रिक्सा र खुद्रा पसलका कारण सडकमा सवारीसाधन गुड्नमात्र होइन, व्यक्तिको हिँडडुलसमेत कठिन भएको छ । 

‘अस्पतालमा बिरामीलाई आकस्मिक सेवाका लागि पुग्न पनि कम्ती कठिन हुँदैन,’ एक स्थानीयले भने, ‘सडकमा एम्बुलेन्ससमेत जाममा पर्ने गरेको छ ।’ यो क्षेत्रमा सरकारी अस्पतालका अतिरिक्त विभिन्न किसिमका स्वास्थ्य संस्था, निजी क्लिनिक, औषधि पसल र स्वास्थ्य सेवासँग सम्बन्धित परीक्षण केन्द्रहरू छन् । सामान्यतया बिरामी र कुरुवाहरूको चहलपहल हुने यो ठाउँ भएर नै जनकपुर भित्रिने अधिकांश तीर्थालुहरू जानकी मन्दिरसम्म पुग्ने गर्छन् । 

‘सानो क्षेत्रफल तर अत्यधिक संरचनाका कारण अस्पताल परिसर साँघुरिँदै गएको छ । त्यसमा अस्पतालबाहिर पनि सडक अतिक्रमण हुँदा बिरामीलगायत सबैलाई समस्या हुने गरेको छ,’ स्थानीय राजकिशोर साहले भने, ‘अस्पतालक्षेत्र चिकित्सालय भएको ठाउँ लाग्दैन अब, हिजोआज यो व्यापारिक ठाउँमा परिणत भइसकेको छ । त्यसमा पनि ससाना पसल थाप्न सडकमै ठेला गएपछि यो त ‘हटिया’ नै बनेको छ ।’

अस्पताल रोडको ट्राफिक व्यवस्थापन गर्न जिल्ला ट्राफिक कार्यालयले समयसमयमा ट्राफिक प्रहरी खटाउने गरेको छ । तर, जनशक्ति अभाव झेलिरहेको ट्राफिक प्रहरी कार्यालयले त्यहाँ तैनाथ गर्ने एक प्रहरीलाई सडकका बाधाअवरोध हटाउन निकै गाह्रो हुन्छ । ‘पसलेहरू निकै अटेरी छन् । हप्कीदप्कीपछि एकछिन सडक खाली गर्छन् तर केहीबेरमै सडकमा अड्डा जमाउँछन्,’ एक ट्राफिक प्रहरीले भने । 

यो सडकसँगै जोडिएका पसल सञ्चालकहरू भीड हटाउने कुरामा चासो लिएका छैनन् । भीडभाड क्षेत्रमा पसल धेरै भल्ने विश्वासका साथ उनीहरू सडकमा रहेका पसल हटाउन पहल नगरेका हुन् । 

जनकपुर अञ्चल अस्पताल प्रशासनले समेत यस सडकको अस्तव्यस्त स्थितिबाट बेखबर देखिएको छ । जसले गर्दा ठूलो समस्याका रूपमा रहेका सडक पसल बन्द हुने छाँटकाँट देखिँदैन ।

 

प्रतिक्रिया दिनुहोस्